सप्तरीमा रोगको प्रकोप

सप्तरीमा रोगको प्रकोप


मुलुकका बाढीप्रभावित क्षेत्रमा विभिन्न किसिमका रोग फैलिँदै गरेको पाइएको छ । सप्तरीमा झाडापखाला, विषमज्वर, ज्वरो, रुघाखोकी, श्वासप्रश्वास, जीउ चिलाउनेजस्ता रोग फैलेको स्थानीयवासीलाई उद्धृत गर्दै राससले जनाएको छ ।

सप्तरीको दक्षिणी तथा पश्चिमी क्षेत्र र सदरमुकाम राजविराजलगायत हनुमानगर, शम्भुनाथ नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, बर्साइन, सकरापुर, बोदेवरसाइन, रुपनी, कंचनरुप नगरपालिका, सकरदही, जोगिनीया, भारदह, इनरुवा, किरपुरा, डलुवा बेलहीलगायत ग्रामीण तथा बजार क्षेत्रमा विभिन्न किसिमका रोगको प्रकोप फैलिएको बताइएको छ । जिल्लामा वर्षा र बाढीका कारण डुबानमा परेका बस्ती तथा अस्थायी शिविरमा दैनिक छाक टार्ने तथा स्वास्थ्य समस्या रहेको तर उचित उपचार हुन नसकेको बाढीपीडितको गुनासो छ । जिल्लाको एक मात्र सरकारी अस्पतालमा दैनिक ३० देखि ४० जना बिरामी उपचारका लागि आउने गरेको अस्पतालले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा शुद्ध पिउने पानी तथा खानपान एवं सरसफाइमा ध्यान नदिइएकाले पनि महामारी फैलिनसक्ने सम्भावना रहेको चिकित्सकले बताएका छन् । बाढीपीडितको राहत तथा उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी पूर्णरुपमा परिचालित रहेकाले केही दिनमै बाढीपीडितको स्थितिमा सुधार आउने प्रजिअ पाण्डेले जानकारी दिनुभयो । सप्तरीमा बाढीबाट झण्डै २० हजार घरका एक लाख व्यक्ति प्रभावित भएका छन् भने छ जनाले ज्यान गुमाएका छन् ।