स्तनपान गराउँदा जलिन् लक्ष्मी, यस्तो छ उपचारको अभियान

स्तनपान गराउँदा जलिन् लक्ष्मी, यस्तो छ उपचारको अभियान


अँध्यारोमा टुकीको सहारामा थिइन् लक्ष्मी करुवा, साथैमा उनका श्रीमान राजेश र उनीहरूका एक ६ महिने बालक । झुलभित्र सुतेकी लक्ष्मीले टुकीको सहारामा नानीलाई स्तनपान गराउँदै थिइन् । अकस्मात लडेको टुकीभित्रको मट्टीतेल लक्ष्मीको जिउमा खनियो । त्यति मात्र होइन, तेलसँगै बलिरहेको आगो पनि खनिएपछि लक्ष्मीलाई ठूलो सङ्कट आइलाग्यो । विर्तामोडस्थित कञ्चनजंघा हस्पिटलमा उपचाररत लक्ष्मीका श्रीमान राजेशले भने– ‘मट्टीतेल पोखिएर सल्केको आगो एकाएक बढ्यो, ओछ्यानबाट बाहिर निस्कनै नपाई झुल र तन्ना जिउमा टाँसियो ।’

घटनापछि गम्भीर घाइते लक्ष्मी (१८) लाई राजेशले उपचारका लागि विर्तामोडका प्रायः सबै अस्पतालमा पुऱ्याए, तर अस्पतालले उपचार सम्भव छैन भनेपछि घरै फर्काइयो ।

आगोले जलेको शरीर लिएर छटपटिएकी लक्ष्मीको अवस्था देखेर बिर्तामोड बुट्टाबारी निवासी समाजसेवी रामकुमार कन्दङ्वाले उद्धार गरी उनलाई हस्पिटल पुऱ्याए । अहिले लक्ष्मीको स्वास्थ्यमा सुधार आए पनि उनलाई बचाउन उपचार खर्च जुटाउनु पर्ने अवस्था आइपरेको समाजसेवी कन्दङवाको भनाई छ ।

गता साउन २८ गते शनिबार राति भएको उक्त घटनामा लक्ष्मीको निधारदेखि मुनि कम्मरसम्मको सम्पूर्ण भाग जलेको छ । शनिवार लक्ष्मीको उपचार शुरु गरेको ४ दिन बितेको छ ।

लक्ष्मीको उपचारमा कन्दङ्वाललाई मानप्रसाद लिङ्देनले साथ दिएका छन् । उपचार तथा स्याहारका लागि वडाध्यक्ष सूर्य कन्दङ्वा, सदस्य शोभा विक, एलविन्द्र खत्री, पवित्रा ढुंगाना र पर्शुराम खनाल, समाजसेवी विष्णु गौतमलगायतले सहयोग गरिरहेका छन् । बिरु दर्नाल लगायतले फेसबुकमार्फत लक्ष्मीको उपचारमा सहयोग जुटाउन अभियान चलाएका छन् ।

– रेजिना गौतम (झापा)