एक कक्षा भर्ना भए असी वर्षका वृद्ध

एक कक्षा भर्ना भए असी वर्षका वृद्ध


बेनी नगरपालिका– १ रत्नेचौरका एक वृद्ध ८० वर्षको उमेरमा कक्षा १ मा भर्ना भएर पढ्न थाल्नुभएको छ । रत्नेचौरको उपल्लाचौरका ८० वर्षीय अम्मरबहादुर थापा स्थानीय नेशनल एकेडेमीको कक्षा १ मा भर्ना भएर अध्ययन गर्न थाल्नुभएको छ । गत वैशाखमा भर्ना भएका थापा नियमित विद्यालय आउने र अरु विद्यार्थीसँगै बसेर पढ्ने गरेको नेशनल एकेडेमीका प्राचार्य याम थापाले बताउनुभयो ।

उहाँले नेपाली र अंग्रेजी अंक, अक्षर लेखपढ सिक्नका लागि विद्यालय भर्ना भएको बताउनुभयो । धार्मिक ग्रन्थ अध्ययन गर्न, हरहिसाब गर्न, आफ्नो, परिवारका सदस्य र ठाउँको नाम चिन्ने उहाँको उद्देश्य छ । बौद्ध धर्ममा आस्था राख्नुहुने थापाले पढ्न नजान्दा धर्मग्रन्थका बारेमा बुझ्न नसकेका कारण आफैँले पढेर ज्ञान हासिल गर्ने अठोट लिनुभएको छ ।

उहाँ भारतीय सेनाका पेन्सनर हुनुहुन्छ । पच्चीस वर्षअघि पेन्सन आउनुभएको थियो । थापा नातिनातीनासँगै झोलामा कापी, कलम र किताब बोकेर विद्यालय आउने र पढाइमा निकै चासो दिने गरेको शिक्षिका टीका थापालाई उद्धृत गर्दै राससले जनाएको छ ।