डा. केसीले दिए १२ औं अनशन बस्ने चेतावनी

डा. केसीले दिए १२ औं अनशन बस्ने चेतावनी


यो सम्बन्धनले त्रिविमा भ्रष्टचार हुन्छ भन्ने पुष्टि

त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन तत्काल फिर्ता नलिए डा. गोविन्द केसीले १२ औँ अनशन बस्ने चेतावनी दिएका छन । डा. केसी ११ औँ अनशन बसेकै अवस्थामा त्रिविले काठमाडौँ नेशनललाई सम्बन्धन दिएको हो ।

त्रिविले सर्वाेच्च अदालतको आदेशलाई देखाएर २० दिनअघि सम्बन्धन दिएको जनाएको छ । सर्वोच्च अदालतको मानहानी सम्बन्धी परेको मुद्दाका आधारमा त्रिविले सम्बन्धन दिने निर्णय गरेको दाबी गरेको छ । कलेज सञ्चालकले भने शुक्रबार मात्र सम्बन्धन पाएको पत्र बुझेका छ ।

डा. केसीले आफ्नो माग विपरित काठमाडौँ नेशनललाई सम्बन्धन दिएको सूचना पाएपछि त्रिवि पदाधिकारी भ्रष्ट भएको र उनीहरुलाई तत्काल कारबाहीको माग समेत राखेका छन् । उनले भनेका छन्,‘यो सम्बन्धनले उनीहरु भ्रष्ट हुन भन्ने पुष्टि भएको छ, अब सम्बन्धन फिर्ता र त्यसमा संलग्न पदाधिकारीलाई तत्काल कारबाही नभए म १२ औँ अनशन बस्न वाध्य हुनेछु ।’

डा. केसीले बाढीपहिरोले देशमा विषम परिस्थिति उत्पन्न भएको अवस्थामा आफू अनशन बसिरहनु उपयुक्त नभएको भन्दै आफ्नो ११ औँ अनशन २३ दिनपछि स्थगन गरेका थिए ।