राजन पन्थ अबुधाबीबाट पक्राउ : अन्य अभियुक्तको खोजी जारी

राजन पन्थ अबुधाबीबाट पक्राउ : अन्य अभियुक्तको खोजी जारी


ढिलोचाँडो अपराधी कानुनको फन्दामा परेरै छाड्छ भन्ने भनाई चरितार्थ तुल्याउँदै नेपाल प्रहरीले ३३ किलो सुन काण्डका चर्चित अभियुक्तलाई नियन्त्रणमा लिएको छ । सिआईबी प्रमुखमा डिआईजी नवराज सिलवाल रहँदा उनको नेतृत्वमा बरामद भएको ३३ किलो सुन प्रकरणका नाइके राजनप्रसाद पन्तलाई नेपाल प्रहरीको विशेष टोलीले युएईको अबुधाबीबाट पक्राउ गरेको हो । सिआईबी प्रवक्ता एसपी मीरा चौधरीले जानकारी गराएअनुसार अभियुक्त पन्तलाई युएई प्रहरीको सहयोगमा पक्राउ गरिएको हो ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले गत पुस २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङबाट ३३ किलो अवैध सुन बरामद गरेको थियो । सो क्रममा उक्त सुन प्रकरणसँग जोडिएका गोपलबहादुर शाही, दिलबहादुर थापा र सन्तोष काफलेलाई पक्राउ गरिएको थियो । बजार मुल्य करिव १५ करोड बराबर रहेको सो सुनसँगै समातिएका व्यक्तिहरुको बयानका आधारमा मुख्य अभियुक्त राजनबारे प्रहरीलाई सुराग मिलेको थियो । त्यसयता लगातार अपरेशनमा रहेको प्रहरीको इन्टरपोल महाशाखाले दुवई प्रहरीसँग समन्वय गरेर पन्थलाई नेपाल झिकाइएको हो। सोमबार दुवई हुँदै काठमाडौं विमानस्थलमा ओर्लिएका पन्थलाई प्रहरीले नियन्त्रणमा लिएर अदालतमा पेस गरेको छ ।

तर, प्रहरीको अनुसन्धानअनुसार दुवईमा बसेका मुख्य कारोबारीमा हरिशरण खड्का, अर्जुन प्रसाद खरेल, रोशन गुप्तलाला भुसाल, कृष्ण गोपाल अग्रवाल, चुडामणी उप्रेती, सिताराम खरेल, केशव चापागाइँ, दुर्गाप्रसाद खरेल र गोपाल भुसालसमक्ष भने अझै प्रहरी पुग्न सकेको छैन। उनीहरुको खोजी जारी रहेको र छिट्टै ती पनि प्रहरी नियन्त्रणमा आउने दाबी गरिएको छ ।