‘इम्बोस्ड नम्बर प्लेट’ आजबाट सुरु : एक हप्ताभित्रै पाइने

‘इम्बोस्ड नम्बर प्लेट’ आजबाट सुरु : एक हप्ताभित्रै पाइने


सरकारले इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याएको छ । पहिलो इम्बोस्ड नम्बर यातायात व्यवस्था विभागका महनिर्देशकको गाडीमा लगाइने भएको छ । महानिर्देशक रुपनारायण भट्टराइको सवारीमा ‘बा एए ०१०१’ नम्बरको इम्बोस्ड नम्बर जडान गरिदैछ ।

सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले काठमाडौं मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयबाट इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएको घोषणा गरे । बलायरले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानले अपराधन नियन्त्रण गर्न र सवारी साधनको सुरक्षामा महत्वपूर्ण सहयोग पुग्ने बताएका छन ।

नेपालले पनि इम्बोस्ड नम्बर प्लेट सञ्चालनमा ल्याएर अन्तराष्ट्रिय मापदण्ड र स्तरमा पुग्ने बाटो खुला गरेको उनको भनाइ छ । ‘चोरी नियन्त्रण, अपराधन न्यूनिकरण, सवारी साधनको अवस्थितिसमेत पत्ता लगाउन यसले सहयोग पु¥याउनेछ’ उनले भने । यसरी नै सुधार गरेर यातायात क्षेत्रलाई अघि बढाउन चाहिरहेको समेत उनले बताए ।

कुनै पनि सवारी साधन धनी वा संस्थाले आवेदन दिएको एक हप्ताभित्र इम्बोस्ड नम्बर प्लेट प्रदान गर्ने गरी तयारी गरिएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए । उक्त नम्बर प्लेट भने उद्घाटन कार्यक्रममा सार्वजनिक गरिएको छ । यसपछि क्रमश अन्य नम्बर लगाइनेछ’ प्रवक्ता डा. पाण्डेले भने । महानिर्देशको सवारीमा एक दुईदिनभित्रै जडान गरिने विभागको भनाइ छ ।

विभागले देशभर सञ्चालन हुने सवारी साधनलाई पाँच प्रकारमा विभाजन गरेको छ । तिनमा राष्ट्रपति, सरकारी, कुटनीतिक, निजी र व्यवसायिक (भाडा) का सवारी साधन रहेका छन् । इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएको ५ वर्षभित्र देशभरका सबै सवारी साधनमा यस्तो प्लेट जडान गरिने सरकारको योजना रहेको छ । यातायात व्यवस्था विभागका अनुसार देशभर अहिलेसम्म २५ लाख गाडी रहेका छन् ।

पहिलो चरणमा सरकारी गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गरिने भएको छ । त्यसपछि क्रमशः कुटनीतिक, निजी र भाडाका सवारी साधनमा इम्बोस्ड नम्बर जडान गरिनेछ । सरकारी सवारी साधनमा जडान गर्न थालेको केही समयपछि नै निजी सवारी साधनका लागि पनि आह्वान गरिनेछ ।

इम्बोस्ड नम्बरप्लेट कार्यान्वयनमा आएपछि सवारीसाधनको चोरी नियन्त्रण हुन्छ । एकपटक नम्बर राखेपछि त्यो ‘फिक्स’ हुने भएकाले परिवर्तन गर्न मिल्दैन । १० वर्षसम्म त्यही रहिरहन्छ ।
अहिले कतिपय सवारीसाधन कर नतिरी सञ्चालन भइरहेका छन् । इम्बोस्ड नम्बर राखेपछि कर नतिरी सवारीसाधन सञ्चालन गरेको खण्डमा तुरुन्तै नियन्त्रणमा लिन सकिन्छ । यो प्रणालीबाटै थाहा पाउन सकिन्छ ।

इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएपछि नेपाली सवारी साधन पनि विश्वस्तरीय मापदण्डअनुसारका हुनेछन् । संसारभर नै सवारीसाधनको नम्बरमा एकरूपता आउनेछ ।