बाढीले बिथोल्न खोजे पनि निर्वाचन रोकिँदैन : यादव

बाढीले बिथोल्न खोजे पनि निर्वाचन रोकिँदैन : यादव


बाढी र पहिरोका कारण प्रदेश नं २ मा आगामी असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा चुनौती थपिएको निर्वाचन आयोगले प्रष्ट्याएको छ । सप्तरीको राजविराजस्थित जिल्ला निर्वाचन कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले बाढीपहिरोका कारण देशमा व्यापक धनजनको क्षति भएको र बाढीपीडितको अवस्था अत्यन्त गम्भीर भएकाले सरकार र स्थानीय प्रशासनलाई छिटो समस्याको समाधान गरी निर्वाचनको वातावरण बनाउन आग्रह गरे ।

बाढीकै कारण निर्वाचनको वातावरण बिथोलिएको त छैन हो नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले असोज २ गतेको स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने दाबी गरे । प्रदेश र संसद्को निर्वाचनको तयारी भइरहेको र प्रदेश नं २ मा हुने निर्वाचनमा पूर्ण सुरक्षाको व्यवस्था गरिएको उनको भनाई थियो ।

प्रमुख आयुक्त यादव सप्तरीको राजनीतिक परिस्थिति एवं निर्वाचनको अवस्था र निर्वाचन सुरक्षाबारे स्थानीय प्रशासनसँग छलफल र जानकारी लिन सप्तरी पुगेका हुन् ।