अब बिजुलीको बिल अनलाइनबाटै

अब बिजुलीको बिल अनलाइनबाटै


नेपाल विद्युत् प्राधिकरणले विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन प्रणालीबाट सहजै महशुल तिर्न सक्ने व्यवस्था गरेको छ । ऊर्जा मन्त्रालयमा आज सोमबार आयोजित कार्यक्रममा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले अनलाइन बिल भुक्तानी प्रणालीको आरम्भ गरेका हुन् । ग्राहकलाई लामो लाइनमा बस्नुपर्ने, बढी खर्च हुने, घाम पानी तथा अन्य असुविधाबाट टाढा राखेर सेवा दिने लक्ष्यलाई केन्द्रबिन्दुमा राखिएको मन्त्री शाहीले अभिव्यक्ति दिए ।

अबदेखि ग्राहकले मोबाइल बैंकिङ सेवामार्फत मोबाइलबाट पनि सहजै रुपमा घरमै बसेर महशुल तिर्न सक्नेछन् भने प्रभु बैंक तथा इ सेवाका मोबाइल एप्प डाउनलोड गरेर पनि भुक्तानी गर्न सक्ने प्राधिकरणले जानकारी दिएको छ ।

यसैगरी ग्राहकले आफ्नो महशुल तिर्न नजिकैको इ सेवा, प्रभु बैंक, महालक्ष्मी विकास बैंक, हिमाल रेमिट, सिटी एक्सप्रेस, पे प्वाइन्ट नेपाललगायतका संस्थाबाट बिना शुल्क महशुल तिर्न सक्ने व्यवस्था गरिएको छ । बताइएअनुसार नेपाल विद्युत् प्राधिकरण र ती संस्थाका बीच महशुल भुक्तानीसम्बन्धी सहमतिपत्रमा समेत हस्ताक्षर भइसकेको छ । निकट भविश्यमा नै हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल क्लिरिङ हाउसबाट समेत महशुल तिर्न सक्ने व्यवस्था गरिने बुझिएको छ ।

ऊर्जामन्त्री शाहीले आगामी डेढ महिनाभित्रै नेपाल टेलिकमको रिचार्ज कार्डबाट समेत महशुल तिर्न सक्ने प्रणालीको विकास गरिने जानकारी दिए ।

ग्रामीण क्षेत्रमा न्यूनतम रु ८० महशुल तिर्न रु ४०० सम्म खर्च गर्नुपरेको भन्ने गुनासो आइरहेका बेला यस्तो प्रविधिले सहजता ल्याउने विश्वास गरिएको छ ।