युवा परिषद विघटनको सङ्घारमा

युवा परिषद विघटनको सङ्घारमा


‘चौविस दिनभित्र खेलकुदले नयाँ आभास पाउने छ’, युवा तथा खेलकुदमन्त्रीको पदभार सम्हालेलगत्तै खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले यस्तो अभिव्यक्ति दिएका थिए । मन्त्री केसीको यो अभिव्यक्तिले त्यतिबेला खेलकुदमा एक प्रकारको कम्पन पैदा भएको थियो । आखिर के गर्न लागे मन्त्रीले भन्दै सर्वत्र चासो प्रकट गरिएको थियो ।

आफ्नो प्रतिबद्धतामा खरो उत्रिने स्वभावका केसीले मन्त्री बनेको २३ औं दिनमा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष, नेपाल ओलम्पिक कमिटी महासचिव तथा नेपाल बास्केट बल संघका अध्यक्ष लामा टेन्डी शेर्पालाई कारवाही गरेर देखाई दिए, जो यसअघिका खेलकुदमन्त्रीहरू पुरुषोत्तम पौडेल, सत्यनारायण मण्डल र दलजित श्रीपालीले गर्न सकेका थिएनन् ।

लामालाई कारवाही गर्ने क्रममा अदालतको फैसला नहुन्जेल लामालाई खेलकुदको जिम्मेवारीबाट अलग गर्ने र त्यसको कार्यान्वयनको लागि राखेपका सदस्यसचिव केशवकुमार विष्टलाई निर्देशन दिएका थिए । अहिले विष्टले उक्त निर्देशन कार्यान्वयनका लागि विभागीय प्रमुख बासुदेव आचार्य कहाँ पठाएका छन् । पत्रको आशयअनुसार अब कानुनी शाखाको राय लिइने र लामालाई कारवाही अगाडि बढाइने भएको छ ।

लामाको कारवाही अगाडि बढिरहेको अवस्थामा खेलकुद मन्त्रालयले आफूअन्तर्गत रहेको युवा परिषदलाई विघटन गर्ने मानसिकता बनाएको स्रोतले बताएको छ । यसैसाता युवा परिषदको विघटन हुने हल्ला चले पनि त्यो अहिलेसम्म हुन सकेको छैन । प्राप्त जानकारीअनुसार परिषद अर्को साता विघटन गरिने छ । यो भन्दाअघि पूर्वमन्त्री सत्यनारायण मण्डलले युवा परिषद विघटन गरी एमालेका कार्यकर्ता भर्ती गरेका थिए । अहिले परिषदमा एमालेका कार्यकर्ताको विशेष राज रहेको खेलकुदसम्बद्ध कर्मचारीहरू बताउँछन् ।

स्मरण रहोस्, मन्त्रालयअन्तर्गत राष्ट्रिय खेलकुद परिषद, युवा परिषद र नेपाल स्काउट गरी तीनवटा संस्था रहेका छन् । जसमा राष्ट्रिय खेलकुद परिषद सबैभन्दा महत्वपूर्ण संस्था हो ।