देउवाले भने- ‘निहुरिएको होइन, शीर ठाडो पारेर आएँ’

देउवाले भने- ‘निहुरिएको होइन, शीर ठाडो पारेर आएँ’


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा धर्मपत्नी तथा सांसद डा.. आरजु राणालगायत करिव चार दर्जन सदस्य रहेको टोलीको नेतृत्व गर्दै यही भदौ ७ गते भारत गएका प्रधानमन्त्री शेरबहादुर देउवा हिजो आइतबार साँझ स्वदेश फर्किएका छन् । पाँच दिवसीय यात्राबाट स्वदेश फर्कंदा त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणले देशको शिर उँचो बनाएको अभिव्यक्ति दिए ।

सबैलाई चासो थियो, भारतमा भएको दुई प्रधानमन्त्रीको संयुक्त सम्बोधनका क्रममा अनावश्यक रुपमा देउवाले नेपालको संविधान संशोधनसम्बन्धी प्रसंग किन उप्काए ? मुलुककको आन्तरिक विषयलाई भारतसामु लम्पसार परेको अर्थ लाग्ने गरी प्रधानमन्त्री देउवाले दुई तिहाई बहुमतका साथ संविधान संशोधन गरेरै देखाइदिने कुरा किन गर्नुपथ्र्यो ?

यस प्रसङ्गको प्रश्नका प्रधानमन्त्री देउवाले सरकारले अघिसारेको संविधान संशोधनको प्रस्ताव मधेशी जनताको भावनालाई समेट्ने प्रयासस्वरुप संशोधन प्रक्रिया अघि बढाइएको र यही विषयलाई आफूले भारतमा प्रसंग उठाएको भन्दै भ्रमणका बेला विदेशमा के बोल्ने के नबोल्ने भन्ने कुराको आचारसंहिता बन्नुपर्ने धारणा अघिसारे ।

परिचित अन्दाजमा झर्किंदै प्रधानमन्त्रीले प्रतिप्रश्न गरे- ‘के बोल्ने भनेर मैले सोधेर जाने रु केही पनि बोल्न नपाउने ? कि आचारसंहिता बन्नुप¥यो, विदेशमा केही पनि नबोल्ने ? अरुले भनेजस्तो शिर निहुरेको हैन, मैले बरु नेपालको शिर ठाडो पारेको छु ।’

उनले नेपालको सामाजिक आर्थिक विकासका लागि उर्जा, व्यापार, कनेक्टिभिटी, पर्यटनजस्ता महत्वपूर्ण क्षेत्रहरुमा सहयोग अभिवृद्धि हुनुका साथै विगतमा सहमतिमा पुगिएका ठूला आयोजनाहरुको शीघ्र एवं प्रभावकारी कार्यान्वयनका लागि सकारात्मक वातावरण बनेको तर्क गरे । भ्रमणको मूख्य प्राथमिकता नेपाल र भारतबीचको विश्वासको आधारशिलालाई मजबुत बनाउनुका साथै विश्वास र समझदारीमा आधारित सम्बन्धलाई दुई देश र जनताको हितमा हुनेगरी अझ फराकिलो र गहिरो बनाउँदै लैजाने दिशामा सहकार्यका लागि थप पहल गर्ने उद्देश्य राखिएको भन्दै प्रधानमन्त्री देउवाले लामो समयदेखि अल्झिएर बसेको पञ्चेश्वर वहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन एक महिनाभित्र टुङ्ग्याउने सहमति हुनुलाई आफ्नो ठूलो सफलताको रुपमा चित्रित गरे ।

भ्रमणका क्रममा बाढी तथा डुबानको समस्याको शीघ्र समाधान गर्न आफूले भारत सरकारसँग गम्भीरतापूर्वक कुरा राखेको उल्लेख गर्दै उनले सीमा क्षेत्रमा हुने बाढी तथा डुबान समस्याको दीर्घकालीन समाधानको दिशामा विज्ञहरुको समूहले संयुक्त निरीक्षण गरी तत्काल उपयुक्त उपाय अपनाउने सहमति भएको जानकारी दिए ।

धेरैवर्षदेखि कार्यान्वयनमा आउन नसकेको टनकपुर बाँध हेड रेगुलेटर एवं नेपाल सीमासम्म भारतले निर्माण गर्नुपर्ने लिङ्क नहरको डीपीआरलाई भारतीय पक्षबाट अन्तिम रुप दिइएको जानकारी प्राप्त भएको पनि प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्रीले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने, महाकाली नदीमा पक्की पुलहरु निर्माण गर्ने, बीरगञ्ज–रक्सौलमा मैत्रीपुलको निर्माण गर्नुका साथै दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण गर्नेलगायतका विषयमा भारतसँग सहमति भएको उल्लेख गरे । नेपालमा एक विशेष आर्थिक क्षेत्र निर्माण गर्ने, नयाँ १३२ केभी ट्रान्समिसन लाइन निर्माण गर्ने, बुलवल–गोरखपुर तथा लम्की–बरेली ट्रान्समिसन लाइन निर्माण गर्ने सम्बन्धमा छलफल अगाडि बढाउने सहमति भएको उनको भनाई छ ।

नेपाली नम्बर प्लेटका एलपीजी बुलेटको समस्याबारेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले समस्या समाधान गरिदिन भारतीय प्रधानमन्त्रीलाई अनुरोध गरेको बताए । विद्यमान कानून अनुसार भारतीय नम्बरका एलपीजी बुलेटले मात्र भारतमा एलपीजी ढुवानी गर्न सक्ने अवस्था रहेको भन्दै उनले लाचारी दर्शाए ।


तस्बिर : रासस