अखिलको अध्यक्ष बनाउन नेताहरूबीच टक्कर

अखिलको अध्यक्ष बनाउन नेताहरूबीच टक्कर


नेकपा (माओवादी केन्द्र)को इतिहासमै पहिलोपटक भातृ संगठन अखिल क्रान्तिकारीमा निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने भएको छ । सहमतिबाट विद्यार्थी अध्यक्ष चयन गर्ने निकै दिनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अवलम्बन गरिने भएको हो । जसअनुसार अनेरास्ववियू (क्रान्तिकारी)को नयाँ नेतृत्वका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

सोमबार अपराह्न ४ देखि साँझ ७ बजेसम्म उम्मेदवारीको मनोनयन दर्ता गरिएको हो । निर्वाचन समितिले दिएको जानकारी अनुसार नयाँ नेतृत्वका लागि अध्यक्षमा अनिल शर्मा, रञ्जित तामाङ र मदन अर्यालले उम्मेदवार दर्ता गराएका छन् । मनोनयन दर्तासँगै क्रान्तिकारीमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुन लागेको चर्चा संगठन पंक्तिमा विद्युतगतिले फैलिएको छ ।

पार्टीअध्यक्ष प्रचण्डले सोमबार विहान अखिल अध्यक्षका दाबेदारहरू रञ्जित तामाङ र अनिल शर्मालाई राखेर सहमति बनाउन गरेको कोशिस असफल भएको छ । तामाङ र शर्माले हामीलाई स्वस्थ प्रतिष्पर्धा गर्न दिनुहोस् भनेपछि प्रचण्डले सहमति बनाउने प्रयास छोडिदिएका थिए ।

रञ्जित तामाङ, मदन अर्याल, अनिल शर्मा, वीरेन्द्र बस्नेत र रामचन्द्र अधिकारीले केन्द्रिय अध्यक्षमा दाबी गरेपछि पार्टीनेता वर्षमान पुनले पनि पाँच जनाबीच सहमति बनाउन प्रयास गरेका थिए । नेता पुन असफल भएपछि अध्यक्ष प्रचण्ड आफै विद्यार्थी नेताबीच सहमति कायम गराउन अग्रसर भएकोमा उनी पनि असफल भएका छन् ।

आज रञ्जित तामाङ, अनिल शर्मा र मदन अर्यालले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । पार्टीनेता नारायणकाजी श्रेष्ठनिकटका मानिने मदन अर्यालले रञ्जित तामाङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने सम्भावना बढेको छ । अर्यालले उम्मेदवारी फिर्ता लिएमा वर्षमानसमर्थक रञ्जित र जनार्दनसमर्थक अनिल शर्माबीच मूख्य प्रतिष्पर्धा हुने देखिएको छ । जनार्दन शर्माका सहोदर भाइ अनिलका विरुद्ध रञ्जितलाई सघाउन यसअघि अध्यक्षका दाबेदार रहेका वीरेन्द्र बस्नेत र रामचन्द्र अधिकारी पनि तयार भएका बताइएको छ ।

ज्ञातव्य छ, विद्यार्थी संगठनको अध्यक्ष बनाउन माओवादीका नेताहरूबीच अघोषित टक्करको स्थिति पैदा भएको छ । यस प्रकरणमा जनार्दन शर्मा प्रभाकर र वर्षमान पुन अनन्त आम्नेसाम्ने भएका छन् । तामाङलाई अध्यक्ष प्रचण्डको पनि भित्री समर्थन भएको बुझिएको छ ।

बताइएअनुसार ३३ पदाधिकारीसहित २ सय ४३ पदका लागि करिब ३०० ले उम्मेदवारी दर्ता गराएका छन् । नयाँ नेतृत्वका लागि मंगलबार निर्वाचन हुनेछ । क्रान्तिकारीको २१ औँ राष्ट्रिय सम्मेलन बुधबारदेखि चले पनि सहमतिमा नेतृत्व चयन हुन नसक्दा सम्मेलन लम्बिएको हो ।

यसरी नेतृत्व मनोनयनमा सहमति नहुनुमा गृहमन्त्री जनार्दन शर्मा प्रभाकर र वर्षमान पुन अनन्तबीच चलेको शीतयुद्धलाई कारक मानिएको छ । जनार्दन शर्मा आफ्ना सहोदर भाइ अनिललाई क्रान्तिकारीको अध्यक्ष बनाउन खोज्ने, उता अनन्त पनि आफूनिकट रञ्जित तामाङलाई नेतृत्वमा ल्याउन खोज्ने होडबाजी चलेपछि अन्ततः निर्वाचनबाटै नेतृत्व चयन गर्नुपर्ने अवस्था आइलागेको हो । आइतबार सकाउने भनिएको सम्मेलन सहमति हुन नसक्दा लम्बिएबाट क्रान्तिकारीका आमसदस्यहरु नै दिक्क बन्न पुगेको सम्बद्ध एक नेताले बताए ।

यता माओवादी केन्द्रका नेताबीच चलेको तानातानीका कारण विद्यार्थीको सम्मेलन लम्बिँदा थप दश लाख खर्च बढ्ने भएको छ । १५ सय भन्दा बढी प्रतिनिधि भेला भएको सम्मेलन लम्बिन जाँदा व्यवस्थापन खर्च बढ्न पुगेको हो । यदि सहमतिबाट क्रान्तिकारी अध्यक्ष चयन हुन सकेको भए थप दशलाख आर्थिक व्ययभार पर्ने थिएन भन्दै व्यवस्थापन कमिटीका एक सदस्यले दुःखेसो गरे ।