प्रदेश, प्रतिनिधिसभाको चुनाव दुई चरणमा गर्ने सरकारको निर्णय

प्रदेश, प्रतिनिधिसभाको चुनाव दुई चरणमा गर्ने सरकारको निर्णय


प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने सरकारले निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रीपरिषद् बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा दुई चरणमा निर्वाचन गर्ने गरी दोस्रो चरणको निर्वाचनको मिति मंसिर २१ गते र मंसिर १० गते तोकेको हो ।

बैठकले प्रदेश प्रमुख र प्रदेशको राजधानीको बारेमा राजनीतिक सहमतिका आधारमा छलफल गरी राजनीतिक समितिले निर्णय गर्ने र संवैधानिक परिषद्बाट पदाधिकारी सिफारिस गर्ने गरी राष्ट्रिय प्रकृति तथा वित्त आयोग गठन गर्ने निर्णय गरेको सूचना तथा संञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।

त्यसैगरी बैठकले एसियाली विकास बैंकबाट भन्सार क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि प्राप्त १५ अर्ब ४८ करोड ऋण अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

बैठकले सहायक रथी राजेन्द्र कार्कीलाई उपरथीमा बढुवा गर्नुका साथै भूमिसुधार सचिव कृष्ण प्रसाद देवकोटालाई आपूर्ति मन्त्रालयमा, भूमिसुधारमा शम्भु कोइरालालाई, खानेपानीमा कृष्णराज विसी र महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालयमा लैजाने निर्णय गरेको छ ।

सरकारले केही अनुसन्धान निर्देशकको पनि बढुवा गरेको छ । अनुसन्धान निर्देशक पदमा हुतराज थापा लगायत तीन जनालाई बढुवा गरिएको मन्त्री बस्नेतले जानकारी दिए ।

मन्त्री बस्नेतका अनुसार त्यसैगरी केही प्रहरी वरिष्ठ उपरीक्षक पदको दरबन्दी खारेज गर्ने र प्रहरी नायब महानिरीक्षक पदको दरबन्दी कायम गर्ने सम्बन्धमा सामान्य छलफल भएपनि निर्णय भने भएको छैन ।