खेलकुद र शिक्षाका काम गर्न सिओलमा सम्झौता

खेलकुद र शिक्षाका काम गर्न सिओलमा सम्झौता


नेपालको खेलकुद र शिक्षामा विकासका लागि विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ)र अम होङ गील फाउन्डेसनबीच सम्झौता भएको छ । दक्षिण कोरिया सिओलस्थित विश्व तेक्वान्दो महासंघको मुख्यालयमा आयोजित कार्यक्रममा डब्लुटिएफका अध्यक्ष जो चङ वन र फाउन्डेसनका प्रमुख ली जे हुबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सो अवसरमा दक्षिण कोरियाका लागि नेपाली राजुदूत अर्जुनजंग बहादुर सिंहलगायतको उपस्थिति रहेको थियो । सम्झौताअनुरुप नेपाल तेक्वान्दो संघको व्यवस्थापन र सहकार्यमा अम होङ गील फाउन्डेसनले नेपालमा विद्यालय निर्माणका साथै भत्किएका विद्यालयलाई पुनर्निर्माण गर्नेछ ।

उक्त फाउन्डेसनले आफूले निर्माण र पुनर्निर्माण गरेको विद्यालयमा तेक्वान्दो संघसँगको सहकार्यमा तेक्वान्दो प्रशिक्षकसहितको तेक्वान्दो खेल सञ्चालनको कार्यक्रम अगाडि बढाउने छ । फाउन्डेसनको स्थापना विश्व प्रसिद्ध पर्वतारोही अम होङ गीलको नाममा सन् २००८ मा भएको थियो ।

अम होङ गीलले विश्वका ८ हजार मिटरभन्दामाथिको १६ हिमालको आरोहण गरेर विश्व रेकर्ड कायम गरेका थिए । सोही फाउन्डेसनले नेपालका विकट स्थानमा १२ विद्यालय निर्माण गरिसकेको छ । अब थप २ विद्यालय निर्माण गर्न लागेको नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास शम्सेर राणाले बताए । सम्झौताको कार्यक्रममा राजदुत सिंहले नेपालका विकेट विद्यालयमा तेक्वान्दो खेल सञ्चालन गर्न आफ्नो पक्षबाट सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

डब्लुटिएफले यसअघि पनि नेपालको अनाथ बालबालिकाका लागि केयर्स नेपाल भन्ने कार्यक्रममा मार्फत तेक्वान्दो खेल सुरु गरेको छ । जुन नेपालका ८ असहाय बालबालिका संरक्षित संस्थामा तेक्वान्दो खेल सुरु गरिसकेको छ । ती बालबालिकालाई निःशुल्क प्रशिक्षण र खेल सामाग्रीसमेत प्रदान गरिसकेको छ ।
सोही कार्यक्रमअन्तर्गत १३ बर्षीय सविन कार्की र १८ वर्षीय सपना नेपालीले गत २४ देखि ३० जुनसम्म कोरियाको मुजुमा भएको विश्व तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका थिए । सविनले महाभूकम्पमा आफ्नो अभिभावक गुमाएकी थिइन् ।