चिनियाँ पर्यटक भित्र्याउन ‘नेगा’ स्थापना

चिनियाँ पर्यटक भित्र्याउन ‘नेगा’ स्थापना


नेपालमा चिनियाँ पर्यटकको आगमन बढाउने उद्देश्यले नेपाल चाइनिज गाइड एशोसिएसन (नेगा) नामक संस्था स्थापना गरिएको छ । नेपालका लागि चिनियाँ राजदूत यु होङसमेतको उपस्थितिमा भएको ‘नेगा’ उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री कृष्णबहादुर महराले चीनले शुरु गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) भित्र रहेर मुलुकको व्यापार विस्तार गर्नुपर्ने बताए ।

नेपालले बिआरआईबाट फाइदा लिन सक्नुपर्ने तर्क गर्दै मन्त्री महराले नेपालको महत्वपूर्ण पर्यटकीयस्थल लुम्बिनीको विकास र प्रवद्र्धन गर्दै अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउनुपर्नेमा जोड दिए । नेपाली र चिनियाँ जनताबीच सम्बन्ध विकासका लागि अब लुम्बिनी महत्वपूर्ण गन्तव्य हुने उनको धारणा थियो ।
द्रुत विकासमा चीनका पर्यटकको आगमन बढ्दै गएको उल्लेख गर्दै परराष्ट्रमन्त्री महराले नेपाल–चीनबीच ऐतिहासिक सम्बन्ध थप प्रगाढ बनाउन पथप्रदर्शकको महत्वपूर्ण भूमिका हुने बताए भने राजदूत यु होङले चिनियाँ सरकारले नेपालको पर्यटन विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।
उक्त कार्यक्रममा काङ्ग्रेस सांसद टेकबहादुर गुरुङ र नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापालगायत सहभागी थिए । उनीहरूले पनि छिमेकी मुलुक चीनबाट बढी पर्यटक भित्र्याउन सके पर्यटनको माध्यमबाट नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।


तस्बिर : रासस