तीन दिन बलात्कार गरी युवतीको हत्या

तीन दिन बलात्कार गरी युवतीको हत्या


दैलेखबाट कालीकोट जान यही भदौ १४ गते हिँडेकी एक युवतीको तथाकथित रुपमा विष सेवनबाट मृत्यु भएको सावित गर्न खोजिएपछि घटना शंकास्पद बन्न पुगेको छ ।

जिप्रका दैलेखले दिएको जानकारीअनुसार सुर्खेतबाट कालीकोट जानका लागि ना५ख १८८७ नंको ट्रकमा भदौ १४ गते चढेकी मनशोभा न्यौपानेले १७ गते दैलेखको खिड्कीज्यूलाको आले होटेलमा विष सेवन गरेकी कुरा प्रकाशमा ल्याइएको थियो ।

युवतीसँगै ट्रक चालक तीन दिनसम्म दैलेखको खिड्कीजिउलाको आले होटलमा बसेको र १७ गते बिहानको ३ बजे उनले विष सेवन गरेको भन्दै उपचारका लागि सदरमुकाम दैलेख बजार ल्याउँदा बाटोमै मृत्यु भएको बनिएको थियो। गाडी चालक लक्ष्मीप्रसाद आचार्यले उनलाई सुर्खेतबाट लगेका थिए ।

बाटोमा तीनदिनसम्म बसेका कारण उनको बलात्कारपछि हत्या हुन सक्ने भन्दै परिवारले आशंका गरेका र जिप्रका दैलेखमा किटानी जाहेरी मुद्दासमेत दर्ता भएको राससले जनाएको छ ।

अनुसन्धानका लागि जिप्रका दैलेखले ट्रक चालक लक्ष्मीप्रसाद आचार्यलाई पक्राउ गरेको छ भने मृतक मनशोभाका बुबा लालु न्यौपानेले हत्या भएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलका ३२ वर्षीय गाडी मालिक तथा चालक लक्ष्मीप्रसाद आचार्यले मामा–भान्जी नाता जनाएर खिड्कीजिउलाको आले होटलमा बसेका थिए । सुर्खेतबाट कालीकोट पुग्नका लागि एक दिनको समय लाग्छ धेरै ढिलो भएमा बाटोमा बास बसे पनि भोलिपल्ट बिहान पुगिन्छ ।

तीन दिनसम्म होटलमा राखेका कारण बलात्कार भएको र त्यसपछि विषसेवनको बहानामा हत्या गरिएको हुनसक्ने भन्दै आफन्तले किटानी जाहेरी मुद्दा दर्ता गरेका छन् । प्रहरीले चालक लक्ष्मीप्रसाद आचार्यको अलवा होटल सञ्चालक कृष्ण आलेमगरलाई पनि सोधपुछका लागि पक्राउ गरेको छ ।