‘हिन्दू अधिराज्य’ स्थापनाका लागि ‘राष्ट्रवादी’ एकत्रित

‘हिन्दू अधिराज्य’ स्थापनाका लागि ‘राष्ट्रवादी’ एकत्रित


वीरगंज । हिन्दू अधिराज्य स्थापना गर्न विभिन्न ९ वटा हिन्दूराष्ट्रवादी संस्थाहरू एकत्रित भई आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । सोमबार वीरगञ्जमा आयोजित एक कार्यक्रममा हिन्दू अधिराज्य स्थापना आन्दोलन समितिका प्रमुख संयोजक अनिल बस्नेत (बाबा)ले आन्दोलनका लागि शिव सेना नेपाल, नेपाल विद्वत् परिषद, राष्ट्रिय सरोकार मञ्च, विश्व हिन्दू महासंघ, श्रीराम हनुमान मण्डल, वृहत राष्ट्रवादी मोर्चा, हिन्दू पुनस्र्थापना भन्छ, नागरिक संघर्ष समिति र नेपाल राष्ट्रवाद संघको संयुक्त समिति गठन गर िहिन्दू अधिराज्य स्थापनाका लागि आन्दोलन गर्न आवश्यक रहेको बताए ।

उनले भ्रष्ट एवं नैतिकहीन नेताहरुले तथाकथित बाहिरबाट आयत गरिएको गणतन्त्र तथा धर्मनिरपेक्षता र संघीयता जस्ता विषालु हथियार प्रयोग गरी देशलाई बिखण्डन गरिनुको साथै हिन्दुधर्म संस्कृति तथा संस्कार एवं परम्परालाई नै समाप्त गर्नेदेखि लिएर राष्द्रलाई नै कंगाल बनाउने कुटनीति र राजनीति बोकेर हिँड्ने दलका नाइकेहरू नै आज नेपाल र नेपालीका दुश्मन रहेको दाबी गरे ।

हिन्दुधर्मावलम्बीमाथि चारैतिरबाट प्रहार भैरहेकै क्रममा देशमा बढ्दो गरीबी, ब्यापक भ्रष्टाचार, युवाबेरोजगारी, भुकम्पपीडित, बाढीपीडितहरुलाई राहत वितरणमा ढिलासुस्ती, विभेद, अन्याय र अत्याचारलगायतका अनेकौँ पीडाबाट पीडित नेपाली समाजलाई उक्त पीडाबाट उन्मुक्ति दिलाउनका लागि सम्पूर्ण पिडित नेपाली समाज एवं राष्ट्रबादी संघ संस्था शक्तिहरु एकजुट भै निर्णायक आन्दोलनमा होमिन अध्यक्ष बस्नेतले आग्रह गरे ।

वीरगंजमा श्रीमद् भागवत कथा महायज्ञ सम्पन्न भएलगत्तै साँझ ७ बजे वीरगंजको घण्टाघरबाट विरोध रैली निस्केर नगरका विभिन्न स्थान हुँदै पुनः घण्टाघरमा पुगी कोणसभामा परिणत हुने कुरा नेपाल विद्वत परिषदका केन्द्रीय सदस्य नरेशराज गिरीले जनाए ।

साक्षात्कार कार्यक्रममा नेपाल विद्वत परिषदका केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेल, हिन्दु पुनःस्थापना मंचका राष्ट्रिय अध्यक्ष बिष्णु बराल, राष्द्रिय सरोकार मंचका राष्ट्रिय अध्यक्ष सोमविक्रम सिंह, विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पृथ्वीप्रसाद झा, समाजसेवी पशुपति विक्रम शाह लगायत शिवशेना नेपालका शीर्ष नेतालगायतको उपस्थिति रहेको थियो ।