प्राध्यापक संघको अधिवेशन कहिले ?

प्राध्यापक संघको अधिवेशन कहिले ?


नेपाल प्राध्यापक संघको १५औँ अधिवेशनबाट अन्योलमा परेको छ । निर्वाचित कार्यसमितिको पदावधि सकिएको दुई वर्ष हुँदा पनि अधिवेशन हुन सकेको छैन ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघको अधिवेशन नभएका कारण १६औँ अधिवेशन हुन नसकेको संघले जनाएको छ ।

कार्यसमितिमा २१ जना निर्वाचित हुने व्यवस्था छ भने विभिन्न विश्वविद्यालयबाट छजना सदस्य मनोनीत गर्ने व्यवस्था छ ।

उक्त संघको नयाँ नेतृत्वका लागि त्रिवि सङ्घका निर्वा्चित केही प्रतिनिधि तथा देशभरका पब्लिक क्याम्पसबाट पनि प्राध्यापकलाई प्रतिनिधि छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ ।

नेपालका विभिन्न विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्थापना भएका सामुदायिकरुपमा सञ्चालित नाफारहित क्याम्पसका प्राध्यापकको संघलाई पब्लिक क्याम्पस प्राध्यापक संघ भनिन्छ ।

विसं २०१९ मा गठन भएको सो संस्थाको विधानले प्रत्येक तीन वर्षमा अधिवेशन गर्नुपर्ने प्रावधान राखेको छ ।
राससका अनुसार विसं २०६९ मा सम्पन्न भएको १५औँ अधिवेशनबाट गठन भएको कार्यसमितिको कार्यकाल विसं २०७२ मा सम्पन्न भएको भए पनि नयाँ नेतृत्व आउन नसकेका कारण पुरानै नेतृत्वले काम गर्दै आएको छ ।

संघका अध्यक्ष रामेश्वर उपाध्यायले नेपाल प्रध्यापक संघभन्दा पनि जेठो संस्थाका रुपमा त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ स्थापना भएकाले त्यसलाई छोडेर अधिवेशन गर्न नहुने बताउँदै सो संघको अधिवेशन चाँडो सम्पन्न गर्न आग्रह गरे ।

उनले आफू तीन वर्षका लागि आएकामा पाँच वर्षसम्म पनि पद हस्तान्तरण गर्न नपाएकोमा चिन्ता व्यक्त गर्दै यस्तो अन्योलको प्रक्रिया लामो समयसम्म रहिरहेमा आफ्नो संस्थाको भविष्य पनि संकटमा पर्ने बताए ।