‘मन्त्रीलाई विवादमा पार्न’ लाखौँको हेलिकोप्टर बुकिङ

‘मन्त्रीलाई विवादमा पार्न’ लाखौँको हेलिकोप्टर बुकिङ


  • श्रीबिक्रम भण्डारी,

युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाल विनाप्रयोजन हेलिकोप्टर बुकिङ गरी सयरमा निस्कन लागेको समाचार प्राप्त भएको छ । भोलि भदौ २१ गते वुधबारका लागि बुकिङ गरिएको हेलिकोप्टरमा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, सचिव दाहाल र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट सयर गर्न लागेको मन्त्रालय स्रोतले बताएको छ ।

प्राप्त जानकारीका अनुसार खेलकुद पूर्वाधारकोे अवलोकन गर्ने निहुँमा सचिव दाहालले हेलिकोप्टर बुकिङ गरेका हुन् । मनाङ, मुस्ताङ र लामटाङका खेलकुद पूर्वाधारको अवलोकन र निरीक्षण गरिने भनिए पनि यो सबै प्रकरण मन्त्री केसीलाई विवादमा ल्याउन सचिव दाहालले रचेको षडयन्त्र भएको स्रोत दाबी गर्छ । अन्यथा विनाप्रयोजन र आचारसंहिता लागेको बेलामा लाखौं रुपैयाँ खर्च गर्नेगरी दाहालले कदापि हेलिकोप्टर बुकिङ गर्ने थिएनन् ।
हेलिकोप्टर बुकिङ गरिसकेपछि सचिव दाहालले ‘भौतिक पूर्वाधारको अवलोकन र निरीक्षणको लागि मन्त्रीज्यू मनाङ, मुस्ताङ र टामलाङ जान लागेको’ जानकारी सदस्यसचिव विष्टलाई गराएका थिए । साथै दाहालले ‘तपाईं पनि जानुपर्छ, भोलि भदौ २१ गते विहान ६ बजे एयरपोर्टमा आउनुहोला’ भनी निर्देशन दिएका थिए ।
त्यसपछि सदस्यसचिव विष्टले उद्देश्यविहीन र विनाप्रयोजनको भ्रमणमा आफु नजाने कुरा सचिव दाहाललाई जवाफ दिएको सुत्र बताउँछ । साथै सदस्यसचिव विष्टले अर्थहीन कामको लागि हेलिकोप्टर बुकिङको खर्च राखेपबाट उपलब्ध हुन नसक्ने प्रष्टोक्ति दिएका पनि स्रोत बताउँछ ।

भ्रमण भनेपछि हुरुक्क हुने स्वभावका सचिव दाहालले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न राज्यको लाखौं ढुकुटी रित्याउने जुन प्रयास गरेका छन्, त्यो भोलि हेलिकोप्टर उडेपछि प्रष्ट हुने छ ।

यसैबीच प्राप्त अर्को जानकारी अनुसार निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सचिव दाहालले आगामी एसियाली इन्डोर प्रतियोगितामा सहभागी हुन विदेश जानका लागि सर्वोच्चले अवैधानिक घोषणा गरेको ओलम्पिक कमिटीका पदाधिकारीलाई पासपोर्ट बुझाएका छन् ।