भूकम्पपीडितका नाममा विद्युत् ‘हुकिङ’ गरेर चोरी

भूकम्पपीडितका नाममा विद्युत् ‘हुकिङ’ गरेर चोरी


काभ्रेपलाञ्चोकमा भूकम्पपीडितका नाममा विद्युत्  ‘हुकिङ’ गरेर चोरी हुने गरेको छ ।

जिल्लाको दाप्चा, कटुञ्जे, तीनघरे, रोहीणी, उग्रचण्डीनालाको घिमिरे गाँउ, मण्डनदेउपुर क्षेत्रमा टहरामा बस्नेले विद्युत् प्राधिकरणको अनुमति नलिई विद्युत् उपभोग गरेको नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले जानकारी दिनुभयो । मिटर जडान नगरी विद्युत् उपभोग गर्नु नै हुकिङ हो ।

विद्युत् चोरी बढेपछि पहिलो चरणमा निर्वाचित जनप्रतिनिधिसँग छलफल गरेको र उहाँहरुले पनि विद्युत् चोरी हुन नदिन प्रतिबद्धता व्यक्त गरेको जनाउँदै वितरण केन्द्र प्रमुख यादवले पुनः निर्माण प्राधिकरणलाई समेत जानकारी दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “चेतनाको कमीले कानुनी अपराध गरेको देखियो यसको अन्त्य जरुरी छ ।”

आव २०७३-७४ मा विद्युत् चोरीको आरोपमा विभिन्न क्षेत्रबाट ४९ जना पक्राउ गरेको उल्लेख गर्दै उहाँले ग्रामीण क्षेत्रमा विद्युत् चोरी गर्दैनौँ भन्ने मानसिकताको विकास हुनुपर्ने बताउनुभयो ।

केन्द्र प्रमुख यादवले विद्युत्लाई पनि मौलिक हकका रुपमा व्याख्या गर्नुपर्ने तर्क गर्दै मिटरबाट मात्रै चोरी भएका ग्राहकको सङ्ख्या ५१ पुगेको जानकारी दिनुभयो । उहाँले विद्युत् चोरीमा कडाइ गरेपछि हुकिङ घट्दो अवस्थामा देखिएको छ भन्नुभयो ।

यसैबीच नमोबुद्ध नगरपालिकाको भकुण्डेमा त्यस क्षेत्रका ग्राहकलाई लक्षित गरी विद्युत् प्राधिरकरणको काउण्टर स्थापना हुने भएको छ । राससका अनुसार त्यसका लागि सबै प्रक्रिया पूरा भइसकेको छ, तिहारसम्ममा सञ्चालन हुन्छ केन्द्र प्रमुख यादवले जानकारी दिनुभयो ।

त्यस्तै जिल्लाको दुर्गम क्षेत्र मानिने कोशीपारि क्षेत्रका लागि विद्युत् सबस्टेसन बनाउने तयारी भएको छ । त्यस क्षेत्रमा विद्युत् लाइन विस्तारको कामसमेत भएको बताइएको छ । प्राविधिक हिसाबले विद्युत् वितरणको विषय यो जिल्लामा मिलेको छैन, त्यसको गम्भीरतालाई ध्यानमा राखेर काठको पोल हटाउने तयारी पनि भएको छ केन्द्र प्रम्ख यादवले भन्नुभयो ।