दुई वर्षीया बालिकाको अपहरण, प्रहरीले गऱ्यो उद्दार

दुई वर्षीया बालिकाको अपहरण, प्रहरीले गऱ्यो उद्दार


पोखराको चिप्लेढुङ्गाबाट अपहरण गरिएकी एक बालिकालाई प्रहरीले धादिङबाट उद्दार गरेको छ । धादिङ पृथ्वीराजमार्ग अन्तर्गत थाक्रे गाउँपालिकामा पर्ने खेस्टेबाट एक दुई वर्षीया बालिकालाई उद्धार गरिएको सिम्लेस्थित प्रहरी प्रहरी सहायक निरीक्षक सिम जिसीलाई उद्धृत गर्दै राससले जनाएको छ ।

बताइएअनुसार धादिङको धुनीबेसी नगरपालिका धार्के निवासी २७ वर्षीय सन्तोष सापकोटाले एक शिशु बोकेर सडक क्षेत्रमा हिँडिरहेको अवस्थामा फेला पारेपछि बजारवासीले प्रहरीलाई खबर गरेका थिए । सापकोटालाई सोधपुछ गर्दा शंकास्पद कुरा गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो ।

उद्दार गरिएकी बालिकाको नातेदार खोजी गरी जिम्मा लगाइने प्रहरीले जनाएको छ । पोखराको चिप्लेढुङ्गा क्षेत्रमा कवाडी सामानको काम गर्ने बालिकाका बाबुआमालाई आफूले घरमा बालक हेरी दिने बताएर उनीहरु काममा गएको बेला बालिका बोकेर धादिङ ल्याएको प्रारम्भिक अनुसन्धानमा सापकोटाले प्रहरीलाई बताएको छ ।

सापकोटाले बालिकालाई २० गते दिउँसो पोखराबाट ल्याएको बताए पनि अपहरण किन गरेको भन्नेबारे अझैसम्म केही नखुलेकाले अनुसन्धानपछि आरोपी विरुद्ध मुद्दा चलाइने जनाइएको छ ।