लण्डन । मारिएका रगताम्मे तालेबानी लडाकुहरुका लाशमाथि यूएस मरिनका चारजना सिपाहीहरुले पिशाब फेर्दै गरेको भीडीयो प्रसारण नेटमार्फत भएको छ । अफगनिस्तानका राष्ट्रपति हमिद कर्जाई्ले सो भीडीयोमा देखिएका अमेरिकी सैनिकहरुलाई पाशविक कुकृत्य गरेको भन्दै भर्त्सना गरेका छन् । यस भीडीयोको प्रसारणलाई लिएर तालेबानले आलोचना गरेको छ तर शान्तिवार्ताको प्रक्रियालाई यसले खासै असर नपार्ने कुरा भने बताएको छ । अमेरिकी सैनिक हाइकमानले यस भीडीयोको वास्ताविकता पत्ता लगाउनको लागि छानबिन अघि बढाएको कुरा उल्लेख गरेको छ । यस्ता क्रियाकलापहरु यूएस मरिनको असुलभित्र नपर्ने कुरा मरिन स्रोतले बताएको छ । भीडीयोको मूलश्रोत र कसले अनलाइनमार्फत प्रसारण गर्यो भन्ने कुराको टुङ्गो लागेको छैन । भीडीयोमा चार जना फौजी पोशाक लगाएका मानिसहरुले तीन जना लाशहरुमाथि पिशाब फेर्दै गरेको देखाएको छ । भीडीयोमा प्रसारण गरेको मृतकहरुका खाली खुट्टा, खोकुलो ढिला पहिरन र उनीहरुका छालाको रङ्ग गाढा श्यामवर्णका छन् । यसले गर्दा उनीहरु तालेबान रहेको पुष्टि गरेका छन् । तिनमध्ये एकजना रगतमा लथपथ थिए । भीडीयोमा एक जनाले, “मित्र हो ! आजको दिन रमाइलो गर” भनेका छन् । सैनिक पोशाकमा रहेका व्यक्तिहरुलाई भीडीयोमा छायाङ्कन भइरहेको कुरा थाहा भएको बोध हुन्छ । राष्ट्रपति हमिद कर्जाइले यस कार्यलाई अत्यन्तै घृणित कार्य भनी भर्त्सना गरेका छन् । र, तत्काल यसलाई छानबिन गर्ने माग राखेका छन् । तालेबानी प्रवक्ता यूसुफ अहमादिले बीबीसीलाई यो एउटा पाशविक हरकतको चरमबिन्दु रहेको बताएका छन् । अर्को तालेबानी प्रवक्ता जाबिउल्ला मुजाहिदले, “यो भीडीयो राजनीतिक चाल नभएकोले कैदीहरुका लागि विगतमा सहमति भएको अदान प्रदानका गर्ने कुरामा खासै असर नपर्ने कुरा भनेका छन् । स्मरण रहोस्, गुअन्टानामो बेमा धेरै तालेबानी लडाकुहरु कैदमा छन् । श्रोत – बीबीसी, सुमल, मेस ।
प्रतिक्रिया