गोर्खाली : एक सच्चा नागरिक

गोर्खाली : एक सच्चा नागरिक


-धन घले / होम सुनुवार
कुनै पनि राष्ट्र सबल, शक्तिशाली र सम्पन्न बन्न देशबासी हरेक जनताको अमूल्य योगदानलाई नै पहिलो जगको रुपमा लिनुपर्दछ । देशबासी सबै नागरिक हुँदैनन् र कुनै स्वच्छ नागरिक आफ्नो मुलुकबाहिर रहेर पनि देशको लागि अमूल्य समय, थोपा-थोपा रगत र पसिना, आफ्नो विवेक, दक्ष शक्तिको सदुपयोग गरिरहेका हुन्छन् । यो सच्चा नागरिकले गर्ने राष्ट्रप्रतिको इमान्दारीता, कर्तव्य र नाता पनि हो ।

यसको बदलामा राज्यले पनि मूल्य र मान्यताको कदर गर्दै सहयोग र उचित वातावरणको सृजना गरिदिनुपर्दछ । तर नेपालमा भने ठीक वितरीत काम भइरहेको कारण देश कहिल्यै माथि उठ्न सकेको छैन । नागरिकहरु हक, अधिकारमाथि दमन र श्रमशोषणको पासोमा फँसेका छन् । नागरिकविरुद्ध यस्ता काम गरिनु राष्ट्र र नागरिक दुबैका लागि ठूलो दुर्भाग्यको कुरा हो । यसरी राष्ट्र बिगार्ने र नागरिक अधिकारमाथि वञ्चित गर्ने पण्डितहरु देशका अधिकांश नेता, शासक बुद्धिजीवी र दार्शनिक भनाउँदाहरु नै हुन् भन्दा अवश्य फरक नपर्ला । कालान्तरमा यस्ता पण्डितहरुले आफ्नो नागरिकलाई दुईसय वर्षदेखि अहिलेसम्म पीडित बनाउँदै एउटा जिउँदो लासको रुपमा उभ्याइरहेका छन् । बिडम्बनाको कुरा, त्यही जिउँदो लासबाट पनि मौसमअनुसार मिल्न सक्ने राहत असुल्ने होडबाजीमा ती पण्डितहरु अहिलेसम्म पछि परेका छैनन् ।

यसरी दुईसय वर्षदेखि शिकार बन्दै आएका नागरिकहरु गोर्खाज -गोर्खाली) नामबाट परिचति भएको सर्वविदित नै छ । गोर्खालीहरुको शुरुवात दुई देश मात्र होइन तीन देशको स्वार्थ र सर्तमा भएको कारण पण्डितहरुले शिकारलाई अझै तड्पाउने मौका मिलाएको प्रमाण थुप्रै देखिन्छन् । पीडित पक्षको गुनासो सुनिदिनेहरुका कान ह्वाङह्वाङ्ती प्वाल भइसकेभने वास्ता नगर्नेहरु आनन्दका साथ छन् । तैपनि सकि नसकी, जानी नजानी आफ्नो हक र अधिकारको खोजी निरन्तर गरी नै रहेको कारण फलस्वरुप क्रमिक रुपमा केही न्याय तथा अधिकार प्राप्त गर्दै यहाँसम्म आइपुगेका छन् । अधिकार प्राप्तका गर्नका लागि गोर्खालीहरुको आवाज र आन्दोलन जारी नै रहेको छ । संघर्षका क्रममा प्राप्त भएका गोर्खालीका अधिकार पनि विभिन्न तहमा छुट्याइएका कारण सबै गोर्खाली र उनीहरुका आवाज एउटै हुन नसकेको कारण आफ्नो अधिकार-प्राप्ती आकाशको फलसरह भएको छ । कतिपय अधिकार पाएकाहरुले पनि सही सदुपयोग गर्न पाएका छैनन् । यसरी गोर्खालीहरु बीचमै एकता हुन नसकेको मौका पारेर फाइदा लिने अन्य गिरोह र संस्थाहरुले माकुरी जाल बुनेको देख्न र बुझ्न सकिन्छ ।

थोरै भए पनि केही अधिकार पाएपछि गोर्खालीले दोहोरो नागरिकता पाएमा राम्रो हुन्छ कि भन्ने सोंच बनाएर भूपू गोर्खालीहरुमार्फत जन्मभूमि नेपालप्रति अनुरोध गरिरहेका छन् । यसरी दोहोरो नागरिकताको अवाज उठ्नासाथ अन्य गैर गोर्खालीबाट यस विषयमा अन्य निकै सहयोगको ज्वरभाटाहरु छल्किएजस्तो देखियो । यसैको फलस्वरुप प्रवासी नेपाली संस्थाहरुले नागरिकताकै सवालमा बेलायतमा मात्र नभई संसारको जुन-जुन कुनामा नेपाली पुगेका छन् त्यहाँ-त्यहाँ निकै सक्रिय भूमिका खेलेका छन् । वास्तवमा गोर्खालीले दोहोरो नागरिकता नलिए पनि कुनै असर पर्ने त होइन यद्यपि गोर्खाजलाई गैरआवासीय नागरिक भन्न पनि मिल्दैन । यदि गोर्खालीले नागरिकता नपाउने हो भने पहिला तीन वर्ष बेलायत, हङकङ, ब्रुनाई या अरु कुनै देशमा बसेर छ महिनाको छुट्टी जाने चलनमा बिताएका गोर्खालीलाई किन त्यस बेलादेखि यसो भनिएन ? वास्तवमा गोर्खालीबाहेक जो अन्य मुलुका गएका नेपाली कोही विद्यार्थी, बन्दकालको बनावटी पीडित, अर्काको राहदानीमा आफ्नो फोटो टाँसेर अर्को देशमा छिरेका, देशको राजस्व खर्च गरेर आएका र बनावटी शरणार्थीको दाबेदारी गर्ने नेपालीहरुलाई अवश्य पनि गैरआवासीय नेपाली नै भन्न रुचाउनु स्वभाविक नै हो । तर गोर्खालीहरुलाई गैरआवासीय नेपाली नभनेर दुई देशबीचको सर्तमा रोजगारी गर्दै आएको नेपाली नै भन्नु पर्दछ, वास्तवमा गोर्खाली पनि यही रुचाउँछ । अबैध रुपमा दोश्रो मुलुक छिरेर अधिकार प्राप्त गरेको नेपाली र गोर्खाली नेपालीलाई कहिल्यै एकै श्रेणीमा राख्न मिल्दैन । गैरआवासीय नेपाली संघ (एन आर एन) हक अधिकारका हैसियतले गोर्खालीभन्दा अग्र पंक्तिमा नभएको कारण गोर्खालीलाई सधैं हतियार बनाएर अघि बढेको प्रष्ट देखिन्छ । यही कारण नेपालले पनि गोर्खालीलाई दिन मिल्ने अधिकार रोक्नु परेको सीधै अनुमान लगाउँदा अन्यथा नहोला । अनि गोर्खालीहरुको दुई सय वर्षदेखिको खुन र पसिनाको मोल पनि एन आर एनले शरणार्थीको रुपमा परिणत गर्न खोजे त्यसलाई हामीले कसरी बुझ्ने ? त्यसैले यस विषयमा आदिवासी जनजाति महासंघले पटक-पटक खबरदारी गर्दै आएको छ । हालमा एन आर एन यूकेले यहाँस्थित सबै संघ-संस्थाका पदाधिकारीहरुलाई सल्लाहकारमा राखी अझै आँखामा छारो हाल्न पछि परेको छैन । त्यसैले यस विषयमा सबै आदिवासी संघ-संस्थाहरु, भूपू संस्थाहरु समयमा नै सजग भएर आफ्नो हक, अधिकारको सुरक्षा गर्न पछि नपरौं ।