वसन्त पञ्चमी पूजा पारम्परिक रुपमा सम्पन्न

वसन्त पञ्चमी पूजा पारम्परिक रुपमा सम्पन्न


अल्डरशट । २८ जनवरी शनिवारका दिन आर्मी क्याम भित्रको दुर्गा मन्दिरमा शिव कल्चर सेण्टरको आयोजनामा, वसन्त पञ्चमी तथा सरस्वती पूजा सम्पन्न भयो । अन्दाजी २०० जना जति भक्तजन र वालवालिका सहभागी भएको यो कार्यक्रम पण्डित शीव निरौलाले वैदिक तरिकाबाट शुभारम्भ गरेकाथिए । उपस्थित बालबालिकालाई अगाडि राखी शुरुमा शिक्षाकी देवी सरस्वतीको परिचय र वसन्त पञ्चमीको हाम्रो दैनिक जीवनमा महत्वबारेमा प्रकाश पारिएको थियो । ज्ञान के हो र यसको आवश्यकता किन छ भन्ने बारेमा पण्डितले साना नानीहरुलाई कथा जस्तो बनाई बुझाएका थिए । पण्डित निरौलाले श्रीपञ्चमी बालबालिकाका लागि शिक्षाको शुरुवात गर्ने दिन मात्र नभई हामी बाबाआमाहरुले पनि के मैलै मेरा छोराछोरीलाई सही ज्ञान दिइराखेको छु त ? मबाट मेरो बच्चाले के शिक्षा पाइराखेको छ ? भनी बुझ्ने र सिक्ने दिन पनि हो भनेकाथिए । कार्यक्रममा आर्मीका वौध्द गुरु केसाङ्ग घलेको पनि उपस्थित थियो र उनले ज्ञान के हो ? बुध्द भगवान कसका लागि ज्ञानको खोजीमा निक्लेका थिए – भन्ने कुरा प्रष्ट्याउँदै वर माग्दा धन होइन ज्ञान दिनू भनेर वर माग्नु पर्छ, र ज्ञान सर्वत्र व्याप्त छ आफूले ग्रहण गरी उपयोग गर्नु पर्दछ भनेका थिए ।
अर्का वक्ता स्वामी नारायण स्कुल लण्डनका धार्मिक शिक्षा विभाग प्रमुख किसन देवानी-एल एल वि)ले सनातन धर्म के हो ? सरस्वतीले धारण गरेका प्रत्येक वस्त्र, अस्त्रदेखि लिएर उनको वाहन र कमलको फूल सबै ज्ञानका प्रतीक हुन भन्ने कुराको बैज्ञानिक तरिकाबाट पुष्टि गरेर सुनाएका थिए । ज्ञान र शिक्षा कहिल्यै पूर्ण नहुने हुँदा यसमा उमेरको हद लाग्दैन र मानिसले मर्ने बेलामा समेत केही सिक्न खोजिरहेको हुन्छ भनेका थिए । उमेरले २७ मात्र पुगेका देवानी ३ विधामा डिग्री प्राप्त र सनातन धर्मका ज्ञातासमेत हुन् ।
शिव कल्चर सेण्टरका महासचिव सूर्य प्रसाद उपाध्यायले पण्डित, लामा धर्म गुरु र भक्तजन बालबालिकालाई स्वागत गर्दै दिउँसो २ बजे शुरु भएको कार्यक्रममा धार्मिक प्रवचन, साई सेण्टर फार्नवरोका साईभक्तहरुवाट भजन-किर्तन, आरती र अन्तमा प्रसाद ग्रहण गरी ५ बजे बेलुका सकिएको थियो । कार्यक्रमको अन्तमा महासचिव उपाध्ययबाट मन्दिर उपलव्ध गराएकोमा क्युएलओजिआर अल्डरशटका जीएमलाई र फार्नवरो सा लाई सेण्टरकालाई विशेष धन्यवाद पनि दिएका थिए ।
-भीम वानिया, मेस