Songs Forever Live Musical Tour 2012

Songs Forever Live Musical Tour 2012


प्लमस्टेड, लण्डन । नेपालबाट पर अर्थात् परदेशमा रहँदा, त्यो कुरा साँचो हो हामी, हाम्रो मौलिकता अनि आफ्नोपनबाट टाढा रहन्छौं । चाहे त्यो परम्परा र संस्कृतिको कुरा नै किन नहोस्, चाहे त्यो आफ्नो घर गाउँ टोल गल्लीको मीठो आभासहरु नै किन नहोस्, निश्चित रुपमा हो हामी गुमाइरहेका हुन्छौं हामीले हाम्रो आफ्नै कला, गीत तथा सँगीतहरु पनि । बसाइ-सराइ हुने क्रममा जीवनशैलीहरु परिवर्तन हुँदै जाँदो रहेछ ।

समयहरु बदलिने क्रमसँगै विशेष गरी नयाँ पुस्ताहरु नयाँ चलन र चल्तीसँग नजिक हुने क्रम पनि बढ्दो रहेछ जुन कुरा यथार्थमा स्वभाविक हो । नेपाली भन्दा भिन्न अर्कै कला, गीत, सँगीत र संस्कृतिहरुमा अनायासै ढल्किनु पर्ने बिडम्बना अहिलेको वर्तमान समयमा छ ।

यसरी संयुक्त अधिराज्य वेलायतमा हाम्रो हुर्कँदै गरेको नेपाली समाजहरुमा यिनै नेपाली मौलिकपनको अभाव त छँदैछ, अझै विशेष गरेर हाम्रो आफ्नै नेपाली गीत सँगीतहरुको तड्कारो अभाव भएको महशुस गर्दै हिजो र आजको पिँढिबीच नेपाली गीत सँगीतमा देखिएको खाली स्थान भर्न र नेपाली कला, गीत र सँगीतलाई अर्को व्यवस्थित उचाइमा लान परदेशमा बसिरहेका नेपाली सँगीत र सुरमा तल्लीन कलाकारहरुको संयुक्त प्रयासमा गत शनिबार सरस्वती पूजाको दिन पारी साउथ इष्ट लण्डनलाई समेट्ने गरी प्लमस्टेडमा “Songs Forever Live Musical Tour 2012” को पहिलो शो भव्यताका साथ सफल भएको छ ।

प्ल्म्स्टेडको सेन्ट प्याट्रिक हलमा सम्पन्न भएको उक्त सांगीतिक साँझमा नेपाली सांगीतिक आकाशमा एक चम्किलो नक्षत्र बनी उदाइरहेका कन्दराका गायक विवेक श्रेष्ठको मख्मली आवाजमा सजिएको सदाबहार गीतहरु स्वर्गीय स्वर सम्राट नारायण गोपालको मलाइ नसोध, दीप श्रेष्ठको बितेका कुराले, म त दूरदेखि आएं, ओम ब्रिक्रम बिष्टको म मौनतामा लगायत आफ्नै समुहको चर्चित करीव डेढ दर्जन गीतहरु प्रस्तुत गर्दा खचाखच भरिएको उक्त हलमा उपस्थित जनमानस मन्त्रमुग्ध भई गीत सँगीत अत्यन्तै भलादमी भावमा श्रवण गरिएको थियो, साथै कार्यक्रमको बीचबीचमा दर्शकलाई लक्षित गरी गायक श्रेष्ठले गरेका रमाइला कुराले कार्यक्रम झनै रोमान्चित भएको थियो । करीब एक दशकपछि गरिएको एकल सांगीतिक कार्यक्रमको सफलतापछि गायक श्रेष्ठ हौसिएका छन् । जुन सन्तुष्टि सँगीतबाट पाउँछु त्यो अरु केहीबाट नपाइने र अब जीवनको अन्तिम समयसम्म यही पेशामा रहेर दर्शक-स्रोतामाझ नयाँ-नयाँ गीत सँगीत पस्कने आफ्नो अठोटको बारेमा गायक श्रेष्ठले बताए ।

बेलायतमा नेपाली समुदायमाझ बिगतका दिनमा भइरहेको कार्यक्रमभन्दा पृथक र विशुद्घ पारिवारिक माहोलको भएकोले अत्यन्तै मन परेको उपस्थित दर्शक स्रोताहरुले बताए ।

वेलायतमा अध्ययनरत युवाहरुको सांगीतिक समूह “Chorus Band” र सांगितिक क्षेत्रमा थुप्रै अनुभव बटुलिसकेका विश्व शाहीको सुमधुर सँगीतले उक्त साँझ निरन्तर सँगीतमा तरङ्गिरहेको थियो । भर्खर मात्र वेलायतमा सांगीतिक यात्रा गरी थुप्रै प्रशंसा बटुल्दै फेरि अर्को यात्रामा लागिपरेका “Chorus Band” मा गंगा थापा, रोशन गुरुङ्ग र अमित रेशमी मगर गितारमा, तबला र मादलमा सनोज थापा र एलन श्रेष्ठ ड्रममा रहेकाथिए । १५ वर्षको लामो अनुभव बोकेका सिम्फोनिक स्टुडियो २००० र सँगम स्टुडियोमा साउण्ड इन्जिनियरको भुमिका निभाइसकेका विश्व शाही किबोर्ड र साउण्ड संयोजन सल्लाहकारमा रहेकाथिए ।

सांगीतिक यात्राको पहिलो शोलाई कुनै प्राविधिक गडबडीबिना साउण्ड संयोजन गर्ने साउण्ड इन्जिनियर हेम विष्ट, जो नमस्ते स्डुडियोमा करीब एक दशक साउण्ड इन्जिनियर पेशामा आवद्घ रहेका थिए, को प्रमुख भूमिका रहेको थियो भने उनलाई साथ दिएका थिए राज नन्दनले ।

अत्यन्तै सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन यस टुरका संयोजक मनोज कुमार गुरुङले गरेका थिए । यसैगरी के.के. मूभिज प्रोडक्सन एवं नेपाली टी.भी का कुशल श्रेष्ठ, गंगा सापकोटा र दिपिका श्रेष्ठले कार्यक्रमको सम्पूर्ण दृश्य लाइभ प्रस्तुत गर्नुका साथै विज्ञापन दाताहरुको विज्ञापनलाई क्रमश प्रस्तुत गरेका थिए ।

कार्यक्रम स्थलको प्रवेशको व्यवस्था सीमी पुन श्रेष्ठ, प्रतिमा जोशी, गिरिश दाहाल र मिलन राज जोशीले गरेका थिए । फ्लोर व्यवस्थापनमा विनोद चिपालु र कुमार श्रेष्ठ थिए । कार्यक्रम स्थलमा अन्य स्थानीय स्वयम् सेवकहरुले पनि कार्यक्रम सफल बनाउन ठूलो भूमिका खेलेका थिए ।

यसैगरी भोजन तथा पेय पदार्थको व्यवस्थापन गोर्खा क्लबका मनिष श्रेष्ठले गरेका थिए । स्थानीय सघं संस्थाहरु नेपाली फोरम ग्रीनबिच, पासा पुचः गुठी साउथ इष्ट लण्डन, तमु धिं इकाई प्लमस्टेड, थकाली समाज, मगर समाज, गुल्मेली समाज, एन.आर.एन का प्रतिनिधिलगायत स्थानीय सँगीतप्रेमीहरुको राम्रो उपस्थिति रहेको थियो ।

यसरी अत्यन्तै बेग्लै शैली र नितान्त सांगीतिक, व्यवस्थित र फरक ढंगले गरिएको यस सांगीतिक यात्राको पहिलो सांगीतिक साँझ भव्य रुपमा सफल भएको छ । हेल्प नेपाल नेटवर्क यू.के. को सहयोगार्थ गरिएको यस सांगीतिक यात्रा जम्माजम्मी संयुक्त अधिराज्य भर ६ ठाउँहरुमा गरिनेछ । हरेक कार्यक्रमहरु बेलुका ठीक ७:०० बजे शुरु हुनेछ भने ढोका खोल्ने समय १६:५ बजेदेखि हुनेछ । यस सांगीतिक यात्राको अब दोस्रो शो नीरमाया रोधीघर अल्डरसटमा 4th Feb, 2012 मा हुन गइरहेको छ । त्यसपछि ब्रेकन (वेल्स), रेडिङ, फोक्सटन हुँदै साउथ हृयारोमा आई “Songs Forever Live Musical Tour 2012” टुङ्गिनेछ भने कार्यक्रमको अफिसियल मिडिया नेपाली टी.भी, नेपाली पत्र, एभरेष्ट टाइम्स रहेको छ, साथै कार्यक्रमको अन्त्यसम्म मुख्य प्रायोजन साउथ लण्डन कलेज र टिकट प्रायोजन कम्यूनिका एक्सपांडिङ मार्केट रिच र सह प्रायोजक समसरा नेपाल रहनेछ ।
-कुशल श्रेष्ठ, मेस