संसारको सबैभन्दा महँगो शहर

संसारको सबैभन्दा महँगो शहर


लण्डन । संसारको सबैभन्दा महँगो शहर कुनचाँहि होला भनेर खुट्याउनु परे अहिले अंगोलाको धुलम्मे राजधानी लुआण्डालाई उछिन्ने अरु शहर कुनै छैनन् । अराजकता, भ्रष्टाचार, चुहावटको चपेट साथै दशकौंसम्मको गृहयुद्धको त्रासदी बोकेको राजधानीले केही हल्का टोकियो, न्यूयोर्क र मस्को बन्ने छनक् दिन्छ । गरीबीको कारण अंगोलाका आधाभन्दा बढी जनसङ्ख्या सरदर दुई डलर प्रतिदिनको कमाइमा बाँच्नु पर्ने अवस्था छ । गरीबीका कारण प्रत्येक दिन झुपडीका लस्करहरु थपिरहने यो शहर लुआण्डालाई पत्याउनै नसकिने आकाशतिर उर्लिँदै गरेको महँगाइले थिचेको छ । एक महिनाको एउटा सामन्य सबै किसिमको सुविधा भएको घरको भाडा दश हजार अमेरिकी डलरसम्म तिर्नु पर्छ । दुई छाक खानालाई कम्तीमा पचास डलर र एउटा एक रातका लागि होटलको एक कोठाको भाडा सामन्यतय चारसय डलर तिर्नु पर्छ र आयात गरेको एककिलो टमाटरको मुल्य १६ डलर पुगेको छ । एक दिनभरिका लागि कार पार्क गर्ने मूल्य ९० डलरसम्म तिर्नु पर्छ ।
मर्सर एजेन्सीले अनुगमन गरेर तयार पारिएको प्रत्तिवेदनमा विश्वको सबैभन्दा महँगो शहर लुआण्डालाई दर्शाएको छ । एक जना इन्डोनेशियाई महिला बिना मिरण्डा सन् २००८ सालमा आफ्नो इन्जिनियर पति इरविन सन्तोषासँग लुआण्डा आउँदा यो शहर महँगो छ भनेर सुनेकी थिईन् तर यति बिघ्न महँगो होला भनेर कहिल्यै नचिताएको कुरा उनी भन्छिन् । बीबीसीका सम्वाददातासँग कुराकानीमा उनले… मैले नेटमा यस शहरमा आउनु अघि खोजी गर्दा यस शहरबारे केही यथेष्ट सूचनाहरु पाउन सकेकी थिईनँ तर पछि यहाँ आएर बस्न थालेपछि मात्र यहाँको आकाश छुने महँगाइको अनुभव गरेँ… भनेकी थिईन् । उनका पति इरविन एउटा तेल कम्पनीमा काम गर्छन् । उनीहरुलाई कम्पनीको तर्फबाट निःशुल्क तीनवटा बेडरुम भएको एउटा बंगला र एउटा कार दिएको छ । उनीहरुका सात वर्षीया छोरीका लागि अन्तर्राष्ट्रिय स्कुलमा पढ्ने सबै आर्थिक भार पनि कम्पनीले नै ब्यहोर्छ । विनाले भने अनुसार उनीहरुका खर्च भनेकै खानपिन र दैनिक दिनचर्यामा प्रयोग गरिने समानहरु मात्र हुन् । यतिका लागि महिनामा २००० डलर खर्च आउँछ, जबकि उनीहरुले मदिराजन्य पिउने कुराहरु पनि पिउँदैनन् । एसियालीमूलको भएको कारणले गर्दा बढी गेडागुडी खाने हुनाले गेडागुडी किन्न जाँदा एउटा सानो डब्बालाई ६ डलर पर्ने र एक किलो गोरुको माँसुलाई ४५ डलर पर्ने आउँछ । ती सबै खाने सामाग्रीहरु प्रायः फ्रोजन गरेर राखेका हुन्छन् तथा ताजा खानेकुरा लुआण्डामा कमै पाइन्छन् ।
सन् २०१० सालदेखि पत्नीसँग लुआण्डामा बस्दै आएका एक जना पोर्तुगिज टेलिकम इन्जिनियर फर्नान्डो अजभेदोले आफूबस्ने घरको भाडा पाँच हजार डलर प्रतिमहिना तिर्ने कुरा बताएका छन् । पत्नी र आफ्नो दैनिक खाने खर्च सरदर २०० डलर लाग्ने बताएका थिए । घरको भाडाचाँहि कम्पनीले तिर्ने भएकोले अलि राहत भएको कुरा बताउँछन् । उनका अनुसार लुआण्डामा सस्तो भनेको डिजेल तेल एक लिटरको ४० सेन्ट, बियर ६० सेन्ट र सिगरेट एक प्याकेटलाई एक डलर पचास सेन्ट पर्छ ।
त्यस्तो एक जना जर्मनी टेलिकमका कन्सल्ट्यान्ट जेम्स वाइल्डले आफू संसारका विभिन्न शहरुहरुमा बसेको कुरालाई उद्धृत गर्दै लुआण्डा वास्तवमा नै संसारको सबैभन्दा महँगो शहर रहेको पुष्टि गरेका छन् । जुन घरमा आफू हाल बसिरहेका छन्, मास्कोमा त्यतिको घरलाई २००० यूरोमा पाइने तर लुआण्डामा उनले अहिले महिनाको पाँच हजार भाडा तिर्दै आएको कुरा बीबीसी संवाददातालाई बताएका थिए । श्रोत – बीबीसी, सुमल, मेस ।