अनुत्पादक क्षेत्रमा लगानी घटाउन राष्ट्र बैंक असफल

अनुत्पादक क्षेत्रमा लगानी घटाउन राष्ट्र बैंक असफल


अनुत्पादक क्षेत्रमा लगानी घटाउन नेपाल राष्ट्र बैंक असफल भएको छ । मौद्रिक नीतिबाट नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको लगानीमा कडाइ गरे पनि राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकले अनुत्पादक क्षेत्रमा लगानी वृद्धि भइरहेको देखिएको हो ।

राष्ट्र बैंकका अनुसार गत वर्षको पुस–माघ यता बैंक तथा वित्तीय संस्थाहरूले अनुत्पादक क्षेत्रमा मनलाग्दी कर्जा प्रवाह गर्दा बैंकिङ क्षेत्रमा अत्याधिक तरलता देखिएको थियो ।

त्यसपछि राष्ट्र बैंकले अनुत्पादक क्षेत्रको लगानीमा कडाइ गरेको थियो । तर पनि बैंकहरू यसै क्षेत्रतर्फको लगानीमा आकर्षित छन् ।

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आव २०७४/७५ को पहिलो आर्थिक अवस्थाले सो अवधीमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमध्ये ६० दशमलव ९ प्रतिशत कर्जा घर जग्गाको धितोमा लगानी भएको छ ।

१४ दशमलव १ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६० दशमलव ७ प्रतिशत र १५ प्रतिशत रहेको थियो ।

२०७४ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट साना तथा मझौला व्यवसायमा प्रवाहित कर्जा कुल लगानीमा रहेको कर्जाको २ दशमलव ४ प्रतिशत छ ।

यस अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित ट्रस्ट रिसिट कर्जा ६ दशमलव ६ प्रतिशतले बढेर ६८ अर्ब ८१ करोड कायम भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५ दशमलव ७ प्रतिशतले बढेको थियो । साथै यस अवधिमा हायर पर्चेज कर्जा १ दशमलव १ प्रतिशतले बढेको छ भने ओभरड्राफ्ट कर्जा १ दशमलव ६ प्रतिशतले घटेको छ ।

यसैगरी १ करोडसम्मको व्यक्तिगत आवासीय कर्जा १ दशमलव ९ प्रतिशत र रियल स्टेट कर्जा शून्य दशमलव ९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । चालू आवको पहिलो महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव ४ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा शून्य दशमलव ७ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह शून्य दशमलव १ प्रतिशत, विकास बैंकहरूको २ दशमलव ९ प्रतिशत र वित्त कम्पनीहरूको शून्य दशमलव ३ प्रतिशतले बढेको छ ।

वार्षिक बिन्दुगत आधारमा २०७४ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रततर्फ प्रवाहित कर्जा १७ दशमलव ९ प्रतिशतले बढेको छ ।

यस आवमा कृषि क्षेत्रतर्फको कर्जा शून्य दशमलव २ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा शून्य दशमलव ७ प्रतिशत, निर्माण क्षेत्र कर्जा १ दशमलव ६ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फको कर्जा शून्य दशमलव ३ प्रतिशत, सेवा क्षेत्रका उद्योगतर्फको कर्जा शून्य दशमलव ९ प्रतिशत र यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १ दशमलव ७ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा छ ।

यसरी अनुत्पादक क्षेत्रमा लगानी बढेतापनी राष्ट्र बैंकले नारामा मात्रै कडाइ गरेको देखिन्छ । राष्ट्र बैंक प्रभावकारी ढंगले नीति कार्यान्वयनमा नलाग्दा समस्या उत्पन्न भएको जानकारहरु बताउछन् ।