चिकित्सकलाई कुटेपछि महाकाली अञ्चल अस्पताल बन्द

चिकित्सकलाई कुटेपछि महाकाली अञ्चल अस्पताल बन्द


कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा कार्यरत चिकित्सकमाथि बिरामीका आफन्तले हातपातमा गरेपछि सो अस्पतालबाट दिईने सेवा प्रभावित बनेको छ । शनिबार राति अस्पतालमा सुत्केरी वार्डमा महिलाले बच्चा जन्माउने क्रममा मृत अवस्थामा बच्चा जन्मिएको विषयलाई लिएर सुत्केरी महिलाका आफन्तले अस्पतालका चिकित्सक, नर्स र अस्पतालको सुरक्षामा खटिएका प्रहरीमाथि हातपात गरेका थिए ।

आफन्तले अस्पतालका डा सत्यप्रकाश कोइरालामाथि हातपात गरेको महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले बताए । चिकित्सक र स्वास्थ्यकर्मीले घटनाको विरोधमा आकस्मिक सेवाबाहेकका अन्य सेवा ठप्प पारेका छन् । उक्त क्रममा अस्पतालमा खटिएका एक प्रहरी जवानको टाउकामा गम्भीर चोट लागेको छ ।

अस्पतालका चिकित्सक महिलाले बच्चा जन्माउने क्रममा मृत अवस्थामै जन्मिएको दाबी गर्छन् । तर महिलाका आफन्तले भने सुत्केरीको वार्डमा रहेको नर्सको लापर्बाहीले बच्चाको मृत्यु भएको आरोप लगाएका छन् । चिकित्सक कोइरालाले भने, ‘जन्मिँदै बच्चाको मृत्यु भइसकेको थियो, तर महिलाका आफन्त आक्रोशमा आएर हातपातमै उत्रिए ।’

बिरामीका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि नै आक्रमण गर्ने कामले असुरक्षित भएको भन्दै आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले चिकित्सकमाथि आक्रमणमा संलग्न भएकाले बिरामीका पाँच जना आफन्तलाई नियन्त्रणमा लिएको बताए । उनले घटनामा संलग्नमाथि आवश्यक कानूनी कारबाही हुने बताए ।