चिया उत्पादनमा पश्चिमाञ्चलकै इलाम बन्दै लमजुङ

चिया उत्पादनमा पश्चिमाञ्चलकै इलाम बन्दै लमजुङ


पछिल्लो समययता लमजुङ चियाका लागि पश्चिमाञ्चलकै इलाम बन्दै गएको छ । जिल्लाको ग्रामिण पर्यटकिय गाउँहरुमा बिस्तार गरीएको चिया खेतीले पश्चिमाञ्चल कै इलामको उपमा पाएको हो ।

घलेगाउँ, भुजुङ, पसगाउँ, भोंजे र पसगाउँमा गरी कुल ४ सय २० रोपनी क्षेत्रफलमा चिया खेती विस्तार गरिएको छ । करिब १ हजार ७ सय मीटरको उचाइमा लगाइएको चियाले पछिल्लो समय सबैको मन लोभ्याएको छ । २०५५ मा इलामबाट चियाको बेर्ना ल्याएपछि भुजुङको त्रिभुवन माध्यामिक विद्यालय नजिकै करिब २० रोपनी जग्गामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय एक्याप भुजुङको सहयोगमा स्थानिय बासिन्दाले सो चिया खेती परिक्षणको रुपमा बिस्तार गरिएको थियो ।

तीन बर्षसम्म गरिएको सो परिक्षण सफल भएपछि २०५९ सालदेखि भुजुङबासीले थप ९० रोपनी क्षेत्रफलमा चिया खेती बिस्तार गरेका थिए । अहिले चिया बगानमा बिभिन्न प्रजातीका गरी कुल २ सय ५० रोपनी क्षेत्रफलमा चिया लगाइएको छ ।

यता सार्क राष्ट्रकै नमुना पर्यटकिय गाउँ घलेगाउँमा पनि ७० र पसगाउँमा एकसय रोेपनी क्षेत्रफलमा चिया खेतीको विस्तार गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले आफ्नो क्षेत्रभित्र पर्ने पसगाउँ, भोजे, घनपोखरा लगायतका अन्य पर्यटकिय गाउँहरुमा पनि चिया खेती विस्तार गरेको छ ।

१५-१५ दिनको फरकमा टिप्दै आएको चियाको मुनाहरु अहिले हप्ता दिन नबित्दै टिप्ने गरेको स्थानिय बासीले बताएका छन । कम्मर साईजमा मुना पलाएपछि अनि चिया टिप्न थाल्दछन् । चिया प्रशोधनका लागि आबश्यक मेसिनको अभाबका कारण उनिहरुले ढिकीको प्रयोग गर्दे आएका छन । स्थानिय सुजन होटलकी जुनी गुरुङ भन्छिन, “चियाको मुना टिपेर ल्याएपछि नरम कपडाले छोपेर घाममा सुकाइन्छ र ओइलिएपछि ढिकीमा कुटेर हावा नछिर्ने प्लाष्टिकमा राखेपछि २४ घन्टामा बास्नाधार भुजुङको स्पेशल चिया तयार हुन्छ । पछिल्लो समय चियाको उत्पादन बढ्दै गएपछि एक्यापले चिया प्रशोधन गर्ने मेशिन समेत ल्याएको छ । चिया प्रशोधनको लागि मेशिन आएपछि स्थानियहरु निकै खुसी भएका छन् ।

हिजोआज ठूलो मात्रामा चिया उत्पादन हुन थालेपछि ग्रामिण पर्यटकिय गाउँहरुमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई स्थानिय चिया नै दिने गरिन्छ । होमस्टेहरुमा पाइने अर्गानिक खाद्यबस्तु अन्र्तगत भुजुङको चिया बन्ने गरेको छ । भुजुङका ४ सय ५० र घलेगाउँका घरपरिवारहरु यहि चिया को प्रयोेग गर्ने गर्दछन् । त्यती मात्र नभएर भुजुङ र घलेगाउँको चिया सदरमुकाम बेसीशहर, पोखरा, चितवन, काठमाडौंदेखि बिदेशी मुलुक साउदी अरब, दुवई, कतार, अमेरिका, बेलायत लगायतका ठाउँहरुमा रहेका आफन्तजनलाई कोसेलीको रुपमा पठाउने गरेको स्थानियहरु बताउँछन ।

स्थानिय चिया भनेपछि लमजुङमा अमृतसरी नै मान्ने गर्दछन । घुम्नका लागि भुजुङ र घलेगाउँसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरु चिया नलिई फर्कदैनन् । हिजो आज सदरमुकाम बेसीशहरमा किनमेल गर्न आउने ग्राहकहरुले समेत स्थानिय चिया सोध्ने गर्दछन् । तर बजार ब्यबस्थापन र प्रशेधनको अभाबले गर्दा चिया पुग्नुपर्ने स्थानसम्म नपुगेको एक्याप लमजुङले जनाएको छ ।

पछिल्लो समययता बिद्यार्थीहरु शैक्षिक भ्रमणका लागि चिया बगान घुम्न इलाम जान नपर्ने बताउँछन् क्लहोसोंथार गाउँपालिकाका अध्यक्ष प्रेम घले । दार्जलिङ, इलाम, झापा, लगाएतका दृश्यहरु अब लमजुङमा नै हेर्न पाइने भएपछि बिद्यार्थी, युवायुवतीहरुको पहिलो रोजाई बन्ने गरेको अध्यक्ष घले बताउँछन् ।