जनताको फैसला जनताले गरुन्, न्यायालय आफ्नो बाटोमा हिँड्छ : प्रधानन्यायाधिश

जनताको फैसला जनताले गरुन्, न्यायालय आफ्नो बाटोमा हिँड्छ : प्रधानन्यायाधिश


प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनसम्पन्न भएपछि मुलुक समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैलो कार्यक्रममका अवसरमा कुरा गर्दै प्रधानन्यायाधिश पराजुलीले मुलुक यतिवेला चुनावमय भएको बताएका हुन् । उनले भने,‘मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सबैको सहभागिता होस्, निर्वाचन समयमै सम्पन्न हुन्छ, जनताले आफ्नो अधिकार प्रयोग गर्नुपर्छ ।’

पराजुलीले न्यायालय र आम सञ्चार एउटै सिक्काको दुई पाटा जस्तै भएको समेत तर्क गरे । उनले मानिस भएपछि अलि–अलि रमाईलो पनि गर्नुपर्ने र गम्भिर पनि बन्नुपर्छ भन्दै सफल हुनको लागि अलि–अलि भाग्य र अलि–अलि नियतपनि हुनुपर्ने बताए । पराजुलीले न्यायालय स्वतन्त्र, भयरहित, स्वच्छ छबि र उच्च मर्यादित भएमात्रै देश समृद्ध र सभ्य हुने स्पष्ट पारे ।

त्यस्तै उनले सञ्चारकर्मीले निश्पक्ष पत्रकारिता गर्नुपर्नेमा जोड दिए । उनले अघि भने, ‘न्यायालयलाई पत्रकारिताको साथ छ, पत्रकारहरुले सत्यको पक्षमा लेख्नुपर्छ, हुन त तपाईहरुले लेखिरहनुभएको छ पनि ।’

उनले सञ्चारकर्मी र न्यायाधिश कसैको नहुँने जिकिर गरे । उनले भने,‘तपाई सञ्चारकर्मीहरु र हामी एउटै हौं ।’ प्रधानन्यायाधिश पराजुलीले क्लबको देउसी भैलो टोलीलाई सत्यको भैली खेल्न र आवाज बुलन्द गर्न आग्रह गरे । उनले देउसीको भाका हाल्दै भने,‘ खेलौ खेलौं भैलो, अहिलेलाई भैगयो ।’

उनले न्यायालय आफ्नो गतिमा चल्ने बताउँदै थपे ‘न्यायलयले संविधान र कानुनको संरक्षण गर्छ, जहाँ जहाँ न्याय पद्धती बलियो, त्यही त्यही विकास भएको छ, सभ्यता बलियो भएको छ ।’