तिहारको अवसरमा नेपालकै ठूलो सारंगी प्रदर्शन

तिहारको अवसरमा नेपालकै ठूलो सारंगी प्रदर्शन


नेपाली लोक संस्कृतिलाई पर्यटन क्षेत्रसँग जोड्न देउसीभैलो खेलिएको छ । पर्यटन पत्रकार संघ (जाट) नेपाल र नेपाली लोकबाजा संग्राहलयको संयुक्त आयोजनामा आज शुक्रबार नेपाल पर्यटन बोर्डमा देउसी भैलो खेलिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटनको प्रमुख आधार हिमाल र प्राकृतिक वस्तु मात्र नभएर संस्कृति पनि भएको बताउनुभयो ।

नेपाली लोकबाजा संग्राहलयका अध्यक्ष रामप्रसाद कँडेलले ६० हजार लोकभाका रहेको मुलुकमा संग्राहलयले २२ वर्षदेखि लोक संस्कृति जोगाउन लागेको बताउनुभयो । “तीन हजार प्रकारका नाच र एक हजारभन्दा बढी बाजा रहेका छन् यसको संरक्षण सरकारले गर्नुपर्छ,”– उहाँले भन्नुभयो ।

जाट नेपालका अध्यक्ष नारायण भण्डारीले ‘पर्यटनका लागि लोक संगीत’ जोड्ने उदेश्यले पत्रकारको संस्थाले संग्राहलयसँग मिलेर यस्तो अभियानको शुरुवात गरेको बताउनुभयो ।

कार्यक्रममा लोकबाजा संग्रहालयले लोपोन्मुख नेपाली बाजाहरु प्रस्तुत गरेको थियो भने नेपालको सबैभन्दा ठूलो (७ फिट ३ इन्च)को सारङ्गी प्रदर्शन गरिएको थियो । कार्यक्रममा पर्यटनसँग आवद्ध व्यक्तित्व र विदेशी पर्यटकको उपस्थिति रहेको थियो ।