एक-एक प्रश्न भ्यागुतो, सर्प र गरुडलाई

एक-एक प्रश्न भ्यागुतो, सर्प र गरुडलाई


– शिरिष रानाभाट
ए भ्यागुतो !
न उफ्रन सकिस् कुवाबाट बाहिर
न त सर्पसँग मितेरी लगाइस्
एउटा प्रश्न सोध्छु उत्तर दिन्छस् –
‘किन सोच्न सकिनस् तैँले
अनि कुवालाई नै किन संसार बनाइस् ?’

ए सर्प !
हिस्स-सहस्स र स्वाँ-स्वाँ गर्दै
सधैं जङ्गलमा नै रमाइस्
एउटा प्रश्न सोध्छु उत्तर दिन्छस् –
‘कसरी जानिस् डस्न तैंले
अनि विष कहाँबाट पाइस् ?’

ए गरुड !
न भ्यागुतो मनपर्‍यो तँलाई
न त सर्प नै मन पराइस्
एउटा प्रश्न सोध्छु
उत्तर दिन्छस् –
‘सर्पको विष पनि अमृतझैँ पिउने
अपार शक्ति कताबाट ल्याइस् ?’
– मङ्सिर, २०६७

बाँच्न सरल छैन- प्रकाश के.सी.

यदि
जीवन भोगुन्जेल हो भने,
भोग नै जीवनको सार हो ।
त्यसैले त,
हरेक ‘आगत’हरू प्रश्न बन्दै
वर्तमानका वाक्यहरूमा ठिङ्ग उभिन्छन्
‘विगत’ले सुल्झ्याउन नभ्याएका
अनेकौं पेन्डिङ उत्कण्ठाहरू
एक लस्करै अर्धविराम बन्दछन्,
त्यही अस्पस्ट अनि विमत वाक्यहरूको संकथनमा
भोग, भोग्न अभिशप्त ‘वर्तमान’
यसरी निष्फिक्रीक्री हाँस्दछ कि
सायद, बाँच्न निक्कै सरल लाग्दो हो !

सगोल जीवनको आधा अंश
सम्भवत: सम्पूर्ण यौवन
अँगालोभरिका आवेशहरू
विदेशी भूमिमा छरपस्ट पार्दै,
निख्रिएका रहरहरूको थैलो बोकेर
एक आप्रवासी मानसिकता
सपनाका बिस्कुनहरू सुकाउन थाल्दछ,
जस्तो-
जीवन त्यहीँबाट सुरु भएको होस् ।
समयको उदास उपस्थितिमा
‘आगत’का अनिश्चित हमलाहरू हुन्छन्
‘विगत’का कुठाराघातहरू
यसरी लिप्सिन्छन् कि
खङ्ग्रङ्ग सुकेका प्रतिफल च्याप्दै
प्रतिबद्ध प्रवासी कुतूहलता
सक्रियताको जाल फैलाउन थाल्दछन्,
जस्तो-
सम्भाव्यताहरू त्यहाँदेखि अगाडि होस् ।

मानिसहरू सुखको पछि भाग्दछन्
या,
दु:खले तिनलाई भगाउँदछ ?
बिताएका समयका लामो अध्यायपछि
भोगको निर्लिप्त निर्क्योलमा
जब अनुभव, निर्मिमेष तटस्थ रहन्छ,
तब सुखको प्राप्ति अनि दु:खको परिणति
समानार्थी हुन्छन्, पर्यायवाची बन्छन्,
सायद, बाँच्न निक्कै सरल लाग्दो हो !

गल्तीहरूका पहाडमय थुप्रो छ पछाडि,
असफलताहरूका चुचुरोमय थुम्को छ सँगै,
अनुभूतिशील ‘गत’ को नि:शेष छ साथमा,
अनि, एउटा यस्तो ‘पट’ छ अगाडि
जो,
भोगाइ कम लाग्ने किसिमले छोटो हुनसक्छ,
भोगविहीनताले पट्यारलाग्दो लामो हुनसक्छ,
‘आगत’ त्यसैले अन्योल छ,
‘आगत’ त्यसैले अन्योल छ,
भोग नै जीवनको सार हो भने
यस घडी
आप्रवासी मानसिकता सारहीन भएको छ ।
‘छैन’ नभन्नलाई ‘छ’ भनेजस्तै लाग्ने गरी
तैपनि एक अनाम ‘आगत’ छ,

बस् !
लाग्दैन,
साँच्चै नै लाग्दैन,
बाँच्न पक्कै सरल लाग्दैन ।
– वुड ग्रिन, लन्डन ।