अनौठो हात्ती : बिजुलीप्रसाद

अनौठो हात्ती : बिजुलीप्रसाद


फेब्रुअरी १९०६ ई. मा भावी सम्राट्– ‘प्रिन्स–अफ–वेल्स’ (Prince-of Wales) प्रिन्स जर्ज नेपालको तराई चितवनको जङ्गलमा सिकारको निमित्त आउने भई सबै बन्दोबस्त भयो । श्री ३ चन्द्र स्वागतार्थ आफैँ चितवनतर्फ जाने भए । उनले प्रिन्सलाई जिउँदा जनावर र जिउँदा चराहरू उपहारस्वरूप प्रदान गर्ने प्रबन्ध गरे ।

यस सिकारको निमित्त काठमाडौं नक्साल हात्तीसारमा राखिएको बिजुलीप्रसाद नामक मकुना हात्तीलाई सम्बोधन गरिएको श्री ३ महाराजको ‘खड्ग निशाना–इस्तिहार’ पढी सुनाउँदा पनि सो बिजुलीप्रसाद हात्ती डेग चलेन । सो सूचना पाई श्री ३ चन्द्र साँझ हावा खान निस्कँदा बग्गीद्वारा नक्साल हात्तीसारमा पुगे र उनले बिजुलीसाद हात्तीलाई सम्बोधन गरी– ‘हाम्रो खड्ग निशाना सुनाउँदा पनि नटेरी चितवनतर्फ नजाने’ भनी रिसाई तुरुन्त तराई चितवनतर्फ जानु भन्ने आदेश दिए । साथै बिजुलीप्रसाद हात्तीको दानासमेत घटाइदिनु भन्ने उर्दी दिएकाले दानासमेत घटाइयो । त्यसपछि सो बिजुलीप्रसाद हात्ती आँखाबाट आँसु चुहाउँदै चितवनतर्फ हिँड्यो ।

प्रिन्स सिकारका लागि चितवन आइपुग्नुअगावै श्री ३ चन्द्र आफैँले बाघको सिकार खेले । घेराभित्रको बाघलाई श्री ३ चन्द्रले गोली हाने, बाघ घाइते भई हात्तीमाथि उफ्र्यो र माहुतेको तिघ्रा बाघले कोपर्नुको साथै श्री ३ चन्द्र चढेको हौदालाई समेत बाघले समातेर तान्दा हौदा कोल्टे पऱ्यो जसले गर्दा सो हौदाबाट श्री ३ चन्द्र जमिनमा पछारिन पुगे । श्री ३ चन्द्र पछारिएको देखी उनका हजुरिया कर्णेल दलबहादुर बस्नेत सोही हात्तीबाट तुरुन्तै हामफाली घोप्टो परी श्री ३ चन्द्रलाई आफ्नो शरीरले छोपे । तुरुन्तै अर्को हात्ती त्यहाँ बसाली श्री ३ चन्द्र र दलबहादुर बस्नेतहरूलाई सो हात्तीमा चढाई हात्ती भगाए । श्री ३ चन्द्रलाई कुनै प्रकारको चोट–पटक लागेन तापनि प्रशस्त आराम गरी बसे ।

केही दिनमै त्यस जङ्गलमा भयङ्कर ‘हैजा’ फैलियो । प्रिन्सको सिकार स्थगित गर्न करै लाग्यो । प्रिन्स नेपाल तराई नआई भारतबाटै फर्कने भएकाले श्री ३ चन्द्रले प्रबन्ध गरेका जिउँदा जनावर र जिउँदा चराहरू उपहारस्वरूप प्रदान गरी भारततर्फ पठाइयो । दिनप्रतिदिन ‘हैजा’ चम्कँदै गयो । दिनदिनै सयौँ व्यक्तिको मृत्यु हुन थाल्यो । ‘हैजा’ले उग्ररूप लिन थाल्यो, चन्द्रशमशेरको होसहवास गुम भयो । सिकार सवारी छोडेर भागा–भाग गर्न थाले । श्री ३ चन्द्र जङ्गल छोडी भाग्न लाग्दा त्यस ठाउँको बन्दोबस्त र औषधि उपचारका निमित्त रुद्रशमशेरलाई सिकार क्याम्पमै छाडी जिम्मा लगाई भागे । काठमाडौं फर्कंदा बाटोमा समेत धेरैको मृत्यु भयो । काठमाडौंमा पनि हैजाको प्रकोप दिनप्रतिदिन बढ्दै गयो । बडो मुस्किलसँग केही महिनापछि मात्र सो हैजा नियन्त्रणमा ल्याउन सफल भए ।

चितवनबाट फर्केपछि श्री ३ चन्द्र आफैँ काठमाडौंस्थित नक्साल हात्तीसारमा गए र उनले बिजुलीप्रसाद हात्तीसँग हात जोरी ‘तिमीले जनाउ त दिएका हौ, तर मैले बुझ्न सकिनँ, तसर्थ माफी पाऊँ’ भनी माफी मागे । त्यसपछि पहिले ठेकिएको दानाको दोब्बर दाना ठेकिदिए । साथै बिजुलीप्रसादको स्याहार–सुसारका लागि अरू दुईवटा ढोई हात्ती थप गरिदिए । यसरी जम्मा चारवटा ढोई हात्तीले बिजुलीप्रसादको स्याहार–सुसार गर्ने भए । सो स्याहारसुसार गर्ने सुसारे ढोई हात्तीहरूको कार्य बिजुलीप्रसाद हात्तीलाई घाँस बोकी ल्याउने, नुहाइदिने, सो ढोई हात्तीहरूका माहुते पछुवाहरूद्वारा बिजुलीप्रसादको निमित्त ‘कुची’ बनाई खान दिने र अरू परिआएका कार्यहरूसमेत गर्ने गर्दथे ।

स्व. श्री ३ जंगकै समयदेखि यो बिजुलीप्रसाद हात्ती थियो । सिकार सवारीमा लैजाँदा सो हात्तीलाई पहिलेदेखि नै ‘खड्ग निशाना–सनद’ सुनाउनुपर्दथ्यो, अन्यथा जे–जति गरे पनि डेग चल्दैनथ्यो । खासगरी ‘हाती–खेदा’मा ठूला–ठूला जङ्गली दतार अथवा मकुना हात्तीसँग अरू घरेलु हात्ती लगाउँदा घरेलु हात्तीले हार्लाजस्तो भएमा बिजुलीप्रसादलाई नै लडाउन लगिन्थ्यो । मौका पारी बिजुलीप्रसाद जङ्गली हात्तीको पछाडि ढाडमा चढी ढाडै भाँची बेकम्मा बनाइदिन्थ्यो, तसर्थ सकभर बिजुलीप्रसाद हात्तीलाई लडाइँदैनथ्यो ।

बिजुलीप्रसादलाई सिकार सवारीमा गएका सिपाही, पिपाहरूले– ‘ए ! बिजुलीप्रसाद दाइ ! पिङ खेल्न मन लाग्यो खेलाइदेउन’ भनेमा सुँड तेस्र्याइदिन्थ्यो र सो सुँड हल्लाई पिङ खेलाइदिन्थ्यो । केही बेरपछि आफैँ राखिदिन्थ्यो । कसैकसैले ज्यादती गरेमा चोट–पटक नलाग्ने गरी पिङ खेलाउँदा–खेलाउँदै सुँडबाट बिस्तारै फुत्त फालिदिन्थ्यो ! बिजुलीप्रसाद हात्तीको छालाको जुत्ता हाल पनि राष्ट्रिय सङ्ग्रहालयमा राखिएकै छ ।

(पुरुषोत्तमशमशेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’बाट)