उपत्यकामा ट्राफिक नियम परिवर्तन हुने

उपत्यकामा ट्राफिक नियम परिवर्तन हुने


उपत्यकामा ट्राफिक नियम परिवर्तन हुने भएको छ । हालको नियमलाई थप परिमार्जित गरी महानगरीय ट्राफिक महाशाखाले ट्राफिक नियमलाई कडाइ गर्न लागेको हो ।

महाशाखाका अनुसार उपत्यकामा नयाँ नियम लागू भएपछि जथाभावी रुपमा सवारी चलाउन पाइने छैन् ।
नयाँ नियममा तीव्रगतिमा गुड्ने सवारीसाधन सडकको बीच भागबाट र सर्वसाधारण बोक्ने सवारी सडकको बाहिरी भागबाट हिँड्नुपर्नेछ ।

जथाभावी ढंगले सवारी चलाउँदा दुर्घटना बढेपछि ट्राफिक प्रहरी महाशाखाले नयाँ नियम ल्याउन थालेको हो । भक्तपुरदेखि काठमाडौँ आउने सवारीसाधनलाई अहिले महाशाखाले प्रशिक्षण समेत दिन थालेको छ ।

‘पहिला तपाईं अनि म’, ‘हर्न नबजाउँ’, ‘सडकको दाँया भागबाट मात्र ओभरटेक गर्नुहोस’, ‘मोटरसाइकल, साइकल, ट्रक, मिनीट्रक बाँया भागमा मात्र’ नारासहितका विभिन्न प्लेकार्ड प्रदर्शन गरी महाशाखाले सवारी चालक र यात्रुलाई जनचेतना प्रदान गरेको हो ।

महाशाखाका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकामा वार्षिक हुने दुर्घटनामध्ये ४२ प्रतिशत व्यक्ति पैदलयात्रु पर्ने गरेको भन्दै उक्त दुर्घटनामा कमी ल्याउन यस्ता कार्यक्रम सञ्चालन गरिएको बताए ।