सप्तरीबाट १ सय ६८ उम्मेदवार, प्रतिनिधिसभामा ५९ र प्रदेशसभामा १ सय ९

सप्तरीबाट १ सय ६८ उम्मेदवार, प्रतिनिधिसभामा ५९ र प्रदेशसभामा १ सय ९


– हेमशंकर सिंह

राजविराज । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि सप्तरीको ४ वटा प्रतिनिधिसभा क्षेत्रबाट ५९ जना र ८ वटा प्रदेशसभा क्षेत्रबाट १०९ गरी १ सय ६८ जनाले मनोनयन दर्ता गराएका छन् ।

बिहीबार सम्पन्न मनोनयन दर्ता कार्यक्रम अन्तरगत प्रतिनिधिसभा क्षेत्र न. १ बाट १४ जना, २ बाट १८ जना, ३ बाट १२ जना र ४ बाट १५ जनाको गरि ५९ जनाले उम्मेदवारी दिएको जिल्ला मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुङ्गानाले जानकारी दिनुभको छ ।

त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तरगत प्रदेशसभा १ मा ९ र २ मा ९ जनाले उम्मेदवारी दिएका छन् भने २ को १ मा १३ र २ मा २२ जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्र नं. ३ अन्तरगत प्रदेशसभा १ मा १९ र २ मा १४ जना तथा ४ को १ मा ११ र २ मा १२ जनागरि १ सय ९ जनाको उम्मेदवारी परेको सो कार्यालयले जनाएको छ ।

गठबन्धनविरुद्ध बागी नै बागी
दलहरुले चुनाव जित्न बनाएको गठबन्धन विरुद्ध गठबन्धन भन्दा बढी स्वतन्त्र उम्मेदवारी परेको छ । प्रतिनिधिसभाका लागि कूल ५९ जनाले उम्मेदवारी दिएकामो २१ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन । प्रदेशसभाका लागि १०९ जनाले उम्मेदवारी दिएकोमा ३९ जना स्वतन्त्र छन् ।

क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि ५ जनाले, क्षेत्र नम्बर २ बाट ८ जनाले, क्षेत्र नम्बर ३ बाट ३ जनाले र क्षेत्र नम्बर ४ बाट ५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रदेश सभाअन्तर्गत क्षेत्र नम्बर १ को १ बाट २ जना, १ को २ बाट ३ जना, क्षेत्र नम्बर २ को १ बाट ४ जना, क्षेत्र नम्बर २ को २ बाट १२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यस्तै क्षेत्र नम्बर ३ को १ बाट ७ जना, ३ को २ बाट ४ जना, क्षेत्र नम्बर ४ को १ बाट ४ जना र ४ को २ बाट ३ जनाले प्रदेशसभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

नेताहरूविरुद्ध पनि बागी
सप्तरीमा वाम, लोकतान्त्रिक र मधेसी सबै गठबन्धनभित्र असन्तुष्टि देखिएको छ । असन्तुष्टिपछि गठबन्धनका उम्मेदवारविरुद्ध वागी उम्मेदवारी परेको छ । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दिएपछि उहाँविरुद्ध राजपाका जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् । राजपा–फोरम गठबन्धनबाट उम्मेदवारी दिएका यादवविरुद्व ठाकुरले उम्मेदवारी दिएका हुन् ।

आफ्नो सक्रियतालाई पार्टीले अवमूल्यन गरेर बाहिरका नेतालाई उम्मेदवार बनाउन खोजेकाले उम्मेदवारी दिएको ठाकुरले बताए ।

त्यस्तै एमालेले वाम गठबन्धनबाट स्थायी कमिटी सदस्य एवं २ नम्बर प्रदेश इञ्चार्ज सत्यनारायण मण्डललाई क्षेत्र नम्बर १ को १ बाट प्रदेश सभाको उम्मेदवार बनाएको पछि मण्डलविरुद्ध एमालेका जिल्ला कमिटी सदस्य प्रकाश खतिवडाले वागी उम्मेदवारी दिएका छन ।

माओवादीमा उमेशको वर्चश्वले बागी
उम्मेदवारीले माओवादीमा पनि असन्तुष्टि बढेको छ । राजपाबाट बुधबार मात्रै माओवादीमा प्रवेश गरेका शशी यादवलाई क्षेत्र नम्बर ४ को २ बाट प्रदेश सभा सदस्य टिकट दिएपछि माओवादीभित्र विवाद बढेको हो । पार्टीले अन्याय गरेको भन्दै माओवादीका क्षेत्रीय सचिव बालेश्वर यादवले शशीविरुद्ध वागी उम्मेदवारी दिएका छन् । बुधबारसम्म यो प्रदेशसभाबाट यादवकै नाम चयन भएको थियो । तर उमेश यादव र महेश यादवले एकलौटी निर्णय गरी एकदिन अगाडि शशि यादवलाई पार्टी प्रवेश गराई टिकट दिएपछि पार्टीकै आफ्ना समर्थकहरुको आग्रहमा उम्मेदबारी दिएको उहाँले बताउनुभयो।

त्यस्तै राजपा महासचिव मनिष सुमन पनि आफ्नो गृहजिल्ला सप्तरीबाट प्रदेश सभाको उम्मेदवार बन्नुभएको छ । उहाँ क्षेत्र नम्बर २ को २ बाट उम्मेदवार बन्नुभएको हो । तर उहाँवरुद्ध पार्टीकै क्षेत्रीय अध्यक्ष लक्ष्मण यादवले उम्मेदवारी दिएका छन् ।

टिकटका लागि चार दिनसम्म भोक हड्तालमा बस्दासमेत पार्टीले बेवास्ता गरेपछि भोक हड्ताल अन्त्य गरेर वागी उम्मेदवार बनेको यादवले बताउनुभयो ।
यस्तै मनिष सुमनकै विरुद्धमा गठबन्धन आवद्ध दल संघीय समाजवादी फोरम नेपालका नेता भीमराज यादवले पनि उम्मेदवारी दिएका छन् । राजविराज नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका यादव १५ मतले पराजित भएका थिए ।

त्यस्तै राजपा र फोरम गठबन्धनका साझा उम्मेदवार राजपाका केन्द्रीय उपाध्यक्षविरुद्ध पनि उम्मेदवारी दर्ता भएको छ । प्रदेश सभा १ को २ बाट उम्मेदवारी दिएका राजपाका केन्द्रीय उपाध्यक्ष नवलकिशोर साहविरुद्ध संघीय समाजवादी फोरम नेपालका प्रदेश सचिव शम्भु झाले उम्मेदवारी दिएका हुन् ।

दाजुभाइ मृगेन्द्र र अनिरुद्ध चुनावी मैदानमा
मधेशी दलको गठबन्धनबाटै क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाका लागि उम्मेदवार बन्नुभएका राजपाका नेता मृगेन्द्र कुमार सिंह यादवविरुद्ध पनि उहाँकै भाई संघीय समाजवादी फोरम नेपालका जिल्ला इञ्चार्ज अनिरुद्ध यादवले उम्मेदबारी दर्ता गराएका छन् ।

यादवले दोस्रो संविधानसभाको निर्वाचनमा पनि अलग–अलग पार्टीबाट संविधानसभा सदस्यको उम्मेदवार भएका थिए र दुवै दाजुभाइ पराजित हुनु परेको थियो ।