वितरण प्रणालीको जिम्मेवारी क्षेत्रीय कार्यालयलाई दिइने

वितरण प्रणालीको जिम्मेवारी क्षेत्रीय कार्यालयलाई दिइने


प्रदेशमा संघीय सरकार गठन भपछि विद्युत वितरण प्रणालीको सम्पूर्ण जिम्मेवारी क्षेत्रीय कार्यालयमा हस्तान्तरण गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । आसन्न प्रदेशसभा निर्वाचनबाट सरकार गठन भई संघीयता कार्यान्वयनमा आएपछि वितरण प्रणालीको जिम्मेवारी क्षेत्रीय कार्यालयलाई दिन लागिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार संघीय प्रदेशअनुसार ७ वटा वितरण केन्द्र राखेर जिम्मेवारी हस्तान्तरण गर्ने तयारी भइरहेको छ । उनले हाल कायम ९ क्षेत्रीय कार्यालयलाई घटाएर ७ वटा बनाइने बताए ।

‘प्रदेश अनुसार क्षेत्रीय कार्यालय पनि ७ वटामात्रै रहनेछन्,’ उनले भने, ‘प्रदेशको राजधानीका आधारमा काठमाडौं र हेटौडा तथा बुटवल र नेपालगन्ज गाभिन्छ ।’
वितरण प्रणालीको जिम्मेवारी क्षेत्रीय कार्यालयमा हस्तान्तरण भएपछि केन्द्रले हस्तक्षेप नगर्ने पनि घिसिङले बताए ।

प्राधिकरणले सुर्खेतको वीरेन्द्रनगरमा गत भदौ ११ गते ६ नम्बर प्रदेशको क्षेत्रीय कार्यालय स्थापना गरेको थियो ।

वितरण प्रणाली हस्तान्तरण हुँदा क्षेत्रीय कार्यालय थप जिम्मेवार हुने उनको भनाई छ । विराटनगर, जनकपुर, पोखरा, वीरेन्द्रनगर र अत्तरिया क्षेत्रीय कार्यालय यथावत रहने प्राधिकरणले जनाएको छ ।