गाउँपालिकाको केन्द्र विवादमा माओवादीले कुटे काँग्रेस कार्यकर्ता

गाउँपालिकाको केन्द्र विवादमा माओवादीले कुटे काँग्रेस कार्यकर्ता


गोरखाका माओवादी केन्द्रका कार्यकर्ताहरु नेपाली काँग्रेसमाथि आक्रमणमा उत्रिएका छन् । भीमसेन गाउँपालिकाको केन्द्र घ्याम्पेशाल सार्ने निर्णयपछि भएको झडपमा माओवादी कार्यकर्ताहरुले काँग्रेस कार्यकर्तामाथि आक्रमण गरेका हुन् ।

यसअघि बगुवामा रहेको गाउँपालिकाको केन्द्र गाउँ कार्यपालिकाको बहुमतको निर्णय गरी आइतबार घ्याम्पेशाल सार्ने निर्णय भएको थियो । निर्णय सकिनासाथ बिपक्षीहरुले साँझ छ बजे खुकुरी प्रहार गरी भीमसेन गाउँपालिका–१ घ्याम्पेशालका सबिनकाजी बानियाँलाई घाइते बनाएका छन् । उनी गम्भीर घाइते छन् । ‘टाउको, घाँटी र ज्यानभरि खुकुरीको चोट छ’ स्थानीय रमेश बस्ताकोटीले भने ‘उनलाई घ्याम्पेशाल स्वास्थ्यचौकीमा सामान्य उपचार गरी थप उपचार गर्न काठमाडौं पठाइएको छ ।’

वडा नं. ८ का अध्यक्ष बासु थापाका अनुसार गाउँपालिका कार्यालयभित्र गाउँसभा भइरहँदा बाहिर बगुवाका बासिन्दाले केन्द्र सार्ने निर्णय गरे अप्रिय घटना हुने भन्दै घरेलु हतियारसहित आँगनमा तैनाथ भएका थिए । ‘४४ जनामध्ये २६ जनाले सार्ने प्रस्ताबमा सही गरेका थिए । १५ जनाले असहमति जनाएका थिए’ उनले भने ‘तर निर्णय हुने बित्तिकै बगुवाका वडा सदस्यले निर्णय पुस्तिका च्याते । बाहिर पनि तनाब भयो ।’

गाउँपालिका बन्नुअघि इलाका नं. १० इलाकाको केन्द्र पनि घ्याम्पेशाल बजार नै थियो । गाउँपालिका बनेपछि केन्द्र बगुवामा सारिएको थियो ।

गाउँपालिकाको कार्यपालिकाको बैठकले छ महिनाभित्र केन्द्र उपयुक्त स्थानमा राख्न सकिने प्राबधान छ । ‘प्राबधान अनुसार नै हामीले केन्द्र सार्ने निर्णय गरेका हौं । बहुमत पनि पुगेको थियो तर किन उहाँहरु आक्रमणमा उत्रनुभयो’ थापाले भने ।