राजदूतसहित जापानी उद्यमीको टोली वीरगञ्जमा

राजदूतसहित जापानी उद्यमीको टोली वीरगञ्जमा


नेपालका लागि जापानी राजदूत मासाशी ओगावाले जापानको लगानी रहेको वीरगञ्जस्थित के एण्ड पी जापान प्रा.लि.को स्थलगत अवलोकन गरेका छन् । जापान चेम्बर अफ कमर्शका अध्यक्ष ताकुहिको तोचोइरीसहित जापानीज उद्योगीहरूको समूहले कम्पनीको अवलोकन भ्रमण गरेका हुन् ।

वीरगंज पथलैया करिडोरमा रहेको पेन्ट उत्पादन गर्ने के एण्ड पी जापान प्रालिले नेरोल्याक पेन्ट्स उत्पादन गरी बजारमा बिक्रीसमेत गरिसकेको छ । तत्कालीन शालीमार पेन्ट्स र कन्साई नेरोलाक पेन्ट्स कम्पनीको साझेदारीपछि संयुक्त कम्पनीको रूपमा सन् २०१२ अक्टुबरदेखि के एण्ड पी नेपालले आफ्नो उत्पादन गर्दै आएको छ । स्थानीय साझेदारी ३२ प्रतिशत तथा भारत र जापानको ६८ प्रतिशत शेयर रहने गरी कम्पनी नेपालमा स्थापित भएको थियो ।

जापानको संयुक्त लगानीमा स्थापना भएको कम्पनी अवलोकन भ्रमणका क्रममा जापानी राजदूतले पछिल्लो समय नेपालमा लगानीको वातावरण बन्दै गएको आफूले अनुभूति गरेको बताए भने जापानका अन्य उद्योगी–व्यवसायीहरूले पनि नेपालमा लगानी गर्न सकिने धारणा राखे । नेपाल लगानीका लागिे प्रचुर सम्भावना भएको देश देखिएकाले उत्पादनमूलक उद्योगमा मात्र नभई ट्रेडिङ, बैंकिङ तथा अन्य क्षेत्रमा पनि थप लगानी हुन सक्ने उनीहरूको धारणा छ ।

के एण्ड पी जापान प्रालि विश्वभर ४० भन्दा बढी देशमा व्यवसाय सञ्चालन गर्दै आएको जापानको सय वर्ष पुरानो कम्पनी हो । यसले नेपालमा ६ वटा शाखा कार्यालय स्थापना गरेको छ । कन्साई नेरोलेक पेन्ट्स उद्योग वीरगन्जका निर्देशक अशोक वैद्यले स्थापनकालदेखि नै के एण्ड पी नेपाल रंगरोगनसम्बन्धी सामग्री उत्पादन गर्ने एक उत्कृष्ट उद्योगको रूपमा चिनिदै आएको दाबी गरे ।

नेपालमा विश्वप्रसिद्ध प्रविधि र विशिष्ट तथा नविन वातावरणमैत्री उत्पादन गर्ने उद्योगका रूपमा पनि स्थापित भएको छ । के एण्ड पी जापानको प्राविधिक धार नै नेपालको ग्राहकहरूको बदलिँदो आवश्यकतालाई पूर्ति गर्ने मुख्य सवल पक्ष रहेको कम्पनीका निर्देशक वैद्य दाबी गर्छन् ।

छोटो अवधिमा उत्साहजनक व्यावसायिक परिणामसहित के एण्ड पी जापान अझ बढी उन्नत र अत्याधुनिक प्रविधि ल्याउनुका साथै विशिष्ट र नवीनतम उत्कृष्ट उत्पादनहरू बजारमा ल्याउन दृढ रहेको कम्पनीले जनाएको छ ।

भ्रमण टोलीमा जापानी राजदूत ओगावा, जापान उद्योग वाणिज्य संघ, सिंगापुरका अध्यक्ष ताकुहिको तोचोइरी, ओकाडा ताकुयालगायत १२ जना थिए । टोलीले वीरगन्जको नोवेल टेक्सटायल, सिर्सियास्थित सुख्खा बन्दरगाह तथा जापानको प्राविधिक सहयोगमा निर्माण भएको वीरगन्जको मुटुमा रहेको घण्टाघरको पनि अवलोकन गरेका थिए ।

प्रणय साह