‘सिउरुङ’: जहाँ पर्यटकको विदाई प्रेमिल-जोडीको बिछोड शैलीमा हुन्छ

‘सिउरुङ’: जहाँ पर्यटकको विदाई प्रेमिल-जोडीको बिछोड शैलीमा हुन्छ


-छविलाल बगाले

सिउरुङ गाउँ विविधताको खानी । शिरमा सेता हिमाल । मध्य भागमा घना जंगल । अनि त्यसको पुछारमा धपक्क बलेको बाक्लो सिउरुङ गाउँ । पर्यटकीय दृष्किोणले निकै महत्वपूर्ण मानिएको गाउँ हो सिउरुङ । मनास्लु हिमालको काखमा अवस्थित सिउरुङ गाउँ उत्तरी लमजुङको साविकको खुदी गाविस वडा नं. ८ र ९ मा पर्दछ । (हाल मस्र्याङ्दी गाउँपालिका) ।

मुलुकमा शान्ति भित्रिएसँगै गाउँलेहरु आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन कम्मर कसेर लागेका छन् । शान्ति बहालीको प्रक्रियासँगै सिउरुङमा आउने स्वेदशी तथा विदेशी पर्यटकको संख्यामा बृद्धि हुन थालेपछि सिउरुङका वासिन्दा मख्ख छन् ।

सिउरुङ गाउँ लमजुङका अन्य गुरुङ गाउँहरु भन्दा अलि भिन्न छ । यहाँको चालचलन, रितिरिवाज र यहाँको रहनसहन पनि बेग्लै छ । जिल्लाका धेरै गुरुङ गाउँहरु पर्यटकिय संभावना बोकेका छन् । यिमध्ये सिउरुङ फरक शैली भएको गाउँ हो । गाउँमा आन्तरिक होस या बाह्य पर्यटक नै किन नहोस यहाँका बासिन्दाहरु पाहुना आएको सुइँको पाउनासाथ खाजा लिएर बाटोमै लिन आइपुग्छन् । पर्यटकहरुको स्वागत सत्कार गर्न खप्पिस सिउरुङे गुरुङ सोल्टी र गुरुङसेनी सोल्टिनीहरु डोकोमा पर्यटकका सामान बोकेर गाउँसम्म ल्याइदिन्छन् ।

मोटरबाट ओर्लन नपाउँदै यहाँका बासिन्दाहरुले पर्यटकलाई फूलको माला, पुष्पगुच्छा गलामा पहिराइदिदै दहीमा मुछिएका सेता अक्षता निधारमा लगाईदिन्छन् । केहीले भने पर्यटकहरुलाई खाजा खुवाउन थाल्छन् । गाउँमा पुग्ने वित्तिकै गाउँलेहरु कोही फूलका माला लिएर बसेका हुन्छन भने कोही दहीमा मुछेको सेता अक्षताका थाली र खाजामा गुन्द्रुकको अचार, च्याउको परिकार अनि डालाभरी सेलको रोटी लिएर ।

पर्यटकहरुलाई स्वागत र खाजा खुवाउने काम सकिएपछि बाजागाजासहित परम्परागत पोसाकमा ठाँटिएका बुढाबुढी युवायुवती, केटाकेटी र गाउँका गन्यमान्यहरु पर्यटकलाई आफ्ना बीचमा राखेर नाच्दै र गाउँदै गाउँ भित्र्याउने चलन छ ।

‘पाहुनालाई गाउँको समाज घरमा राखेर सत्कार गर्नु, घाँटु, कृष्णचरित्र, घ्याब्रे, पच्यु, लामा, सोरठी लगायतका परम्परागत नृत्य प्रस्तुत गर्नु सिउरुङबासीको परम्परा हो ।’ सिउरुङ ग्रामिण पर्यटन ब्यवस्थापन समितिका सचिव उमरबहादुर गुरुङ भन्छन्, ‘गाउँमा आएका पाहुनालाई आत्मियताका साथ स्वागत गर्नु सिउरुङवासीको धर्म हो । अतिथि सत्कारको लागि सिउरुङका सबै बासिन्दा उत्साहित हुन्छन् ।’

गाउँमा आन्तरिक होस या बाह्य पर्यटक नै किन नहोस । यहाँका बासिन्दाहरु गाउँमा पाहुना आएको सुइँको पाउनासाथ खाजा लिएर बाटोमै लिन आइपुग्छन् । पर्यटकहरुको स्वागत सत्कार गर्न खप्पिस सिउरुङे गुरुङ सोल्टी र गुरुङसेनी सोल्टिनीहरु डोकोमा पर्यटकका सामान बोकेर गाउँसम्म ल्याइदिन्छन् । मोटरबाट ओर्लन नपाउँदै पर्यटकलाई फूलको माला, पुष्पगुच्छा गलामा पहिराइदिँदै दहीमा मुछेका सेता अक्षता निधारमा लगाईदिन्छन् । केहीले भने पर्यटकहरुलाई खाजा खुवाउन थाल्छन् । बेलुकी रोधीँ बस्छन् । रोधीँमा नाचगान अनि मनका भावना साटासाट गर्ने चलन पनि छ । खाना खाने बेला र खाइसकेपछि गुरुङसेनी सोल्टीनीहरुले पाहुनाका हात सावुन लगाएर धोइदिने चलन छ । र विदाई मायाजालमा परेका २ आत्माको बिछोड शैलीमा हुन्छ । सेतो टीका, फूलको माला, हातमा खाजाको कोशेली दिएर विदाई गर्ने यहाँको चलन छ । पाहुनाको झोला बोकेर गाउँलेहरु पाहुनालाई अघि लगाएर बाटोसम्म पुर्‍याउनआइपुग्छन् ।

प्रकृतिले सिंगारिदिएको सिउरुङ आफैंमा सुन्दर पनि छ । लमजुङ हिमाल, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु लगायतका आधा दर्जन हिमश्रङखलाका मनमोहक टाकुराहरु सिउरुङबाट देख्न सकिन्छ । बिहानीको मिर्मिरेपछि आफु सुतिरहेको ओछ्यानबाटै सुर्योदयको दृश्यावलोकन ज्यादै रमाइलो देखिन्छ । पुराना शैलीमा बनेका ढुंगा र खरले छाएका घुमाउने घरहरु, बाक्लो गुरुङ वस्ती अनि चौविसै घण्टा विजुली, पानीको सेवा र गाउँलेहरु बिचको एकता सिउरुङको बिशेषता हो ।

त्यसो त गुरुङसेनीहरुको आत्मियता, सहयोगी भावना, ढाँट, छल गर्न नजान्ने गुरुङ बाआमा अनि साना स्कुले बालबालिका तथा बुढाबुढी आमाहरुको पर्यटकप्रतिको मायालु ब्यबहारले सिउरुङ पुगेका पाहुनाहरु तुरुन्तै फर्कन मान्दैनन् । अत्यन्तै सुन्दर वनपाखा, लोपोन्मुख चराचुरुङीहरुको चिर्विराहट, शितल हावापानीका कारण बाह्रै महिना सिउरुङ आउने जाने पर्यटकहरुको संख्या उत्साहजनक भएको लमजुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजेश थापाको भनाई छ । ‘पहिलेको सिउरुङ र अहिलेको सिउरुङमा आकाशपातालको फरक छ ।’ अध्यक्ष थापा भन्छन्, ‘दशबर्षे माओवादी जनयुद्धका बेला सेलाएको पर्यटन क्षेत्र अहिले फस्टाएको छ ।’

समुन्द्री सतहदेखि १८५४ मिटरको उचाइमा अवस्थित पर्यटकिय गाउँ सिउरुङमा फरक फरक शैलीमा निर्माण गरिएका १ सय १५ घरहरु एकैठाउँमा झुण्ड भएर रहेका छन् । यहाँ होमस्टे अर्थात पाहुना घरबासको पनि ब्यवस्था छ । गाउँ ठूलो भएकोले हरेक साता शनिबारका दिन गाउँ सरसफाइ गर्ने चलन पनि यहाँ छ ।

सिउरुङमा शहरीया खाना भने भेट्न मश्किल नै रहेको लमजुङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष रामकुमार श्रेष्ठको अनुभव छ । गाउँघरमा उब्जाइएका धान, मकै, कोदो, भटमास, फापर लगायत परिकारहरु स्थानीय खसी, बोका, भेडा तथा कुखुराको मासु, रायोका साग, सिस्नुको खोले, विभिन्न किसिमका च्याउ, कर्कलो सिउरुङका आकर्षणहरु भएको सिउरुङको पर्यटन विकासमा लागिरहेका सर्बोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलिया बताउँछन् ।

गाउँमा बास बस्न पुगेका पाहुनाको सत्कार सँगसँगै आफ्ना कला संस्कृति जोगाइ राख्न जुटेका गुरुङसेनीहरु पच्यु, घ्याब्रे, लामा, सोरठी, कृष्णचरित्र, झाँक्री, सेर्गा, झ्याउरे, चुट्का लगायतका लोपोन्मुख संस्कृतिमा देख्दा गाउँमा फरकपन पाएको नेपाल एकिकृत ब्यापार समिति (एनटिआइएस) का कार्यक्रम संयोजक शिव न्यौपानेको भनाई छ । ‘धेरैजसो ठाउँहरुमा साँझ रोधी बस्ने चलन हटिसक्यो ।’ संयोजक न्यौपाने भन्छन्, ‘रोधी प्रथा हटिसकेको बेला सिउरुङवासीले भने रोधीलाई बचाईराखेका छन् । गाउँमा पुगेका पर्यटकलाई खुसी पार्न बेलुकी सबै दौतरी रोधीघरमा भेला भई सुखदुख साटासाट गर्ने चलन जोगाउनु आवश्यक छ । संस्कृतिको जगेर्ना गर्नु नै पर्यटन हो ।’

‘सिउरुङबासीले गाउँमा पुगेका पर्यटकलाई सहजै विदा दिदैनन् ।’ सर्बोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलिया भन्छन्, ‘ढिलोगरी विदा पाएका पर्यटकहरु सिउरुङेहरुको माया ममताले छुट्टिन् मान्दैनन् । निधारमा सेतो टीका, गलामा फूलको माला अनि हातमा खाजाको पोको दिएपछि पर्यटकहरु फर्कन मान्दैनन् ।’ विदावादी भइसकेका पाहुनाको झोला बोकेर बाटेसम्म पु¥याउन आउने यहाँको पुरानो चलन हो ।

अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने यस गाउँबाट थुर्जु लेक–दुधपोखरी हुँदै कास्कीको पर्यटकीय गाउँ सिक्लेस–ताङतिङ जाने बाटो समेत छ । त्यस्तै, सिउरुङबाट ताघ्रिङको कालाघिरिङ हुँदै अन्नर्पूण पदयात्रा मार्गको च्याम्चे र नामुनभञ्ज्याङ हुँदै मनाङको तिमाङ निस्कने दुईवटा बाटोहरु पनि छ । यो पदयात्रा मार्ग संचालन हुन सके पर्यटकको बसाइलाई बढवा मिल्ने सिउरुङका पर्यटन सचिव गुरुङको भनाई छ ।

आफ्नो गाउँलाई नेपालमा मात्रै नभई विश्व जगतमा चिनाउने सिउरुङका वासिन्दाको धोको छ । गाउँमा पर्यटक भित्र्याउको लागि सिउरुङबासी मात्रै नभई खुदी गाविसमा तरापु, रावा, काउले, ननम्रोँ, ढगै र टुनिखर्क लगायतका गाउँहरु पनि सक्रिय छन् । गाउँभन्दा माथि रहेका खिलाँपु र हर्सिङ डाँडावाट दर्जनौं हिमश्रृङखला, मस्र्याङ्दी र खुदीको नागबेली, चारैतिर झुण्ड शैलीमा रहेका मानववस्तीहरु अवलोकन गर्न सकिन्छ । सिउरुङवासीले खिलापु डाँडामा भ्यू टावर बनाउने योजना बुनेका छन् ।

OLYMPUS DIGITAL CAMERA

विगतमा भुलभुले बजार नजिकै रहेको टारीकुनादेखि ३ घण्टाको पैदल यात्राबाट मात्रै गाउँमा पुग्न सकिन्थ्यो । तर अहिले देश विदेशमा छरिएर रहेका गाउँलेहरुले रकम संकलन गरेर गाउँसम्म मोटर बाटो पुर्‍याएका छन् । अहिले सदरमुकाम बेसीशहरबाट मोटरमा चढेर सिउरुङ गाउँ पुग्न सकिने स्थानिय टसबहादुर गुरुङ बताउँछन् ।

विगतमा ओझेलमा परेको सिउरुङ गाउँ अहिले बिस्तारै बामे सर्देछ । गाउँमा पर्यटक भित्र्याएर पर्यटन ब्यवसायी बन्ने यहाँका बासिन्दाहरुको धोको पनि छ । गाउँ छिर्ने मुख्य प्रवेशद्धारमा सिउरुङबासीले प्रवेशद्धारको निर्माण समेत गरेका छन् । यसका साथै गाउँमा रोटरी क्लव, रोट्रयाक्ट क्ल्व, उद्योग बाणिज्य संघ लगायतका संघ संस्थाहरुले पनि विभिन्न सहयोग गर्दै आएको छ ।

लमजुङ गुरुङ जातिको उद्गमस्थल हो । पुर्खौदेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयवासिको आफ्नै मौलिक कला, संस्कार र संस्कृति छन् । हिमाली काख र स्वच्छ हावापानी रुचाउने गुरुङ समुदायको लमजुङमा बाक्लो बसोवास पनि छ । एकै ठाउँमा गुचुमुच्च भएर बस्न रुचाउने गुरुङ समुदायभित्र एकता पनि छ । पहिले रोधीँ हुँदै सामुहिक एकतामा होमिएका गाउँले पछिल्लो समय आमा समूह, युवा क्लब, बाबा समूह भएर गाउँको विकास निर्माणमा जुटेका छन् । यस्तै, उनीहरु पछिल्लो समय ग्रामिण पर्यटनतर्फ समेत आकर्षित हुन थालेका छन् ।