भद्रपुरमा राष्ट्रसेवक कर्मचारीलाई निर्देशन

भद्रपुरमा राष्ट्रसेवक कर्मचारीलाई निर्देशन


आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई निष्पक्ष, तटस्थ र धाँधलीरहित एवं विश्वसनीय बनाउन आफ्नो तहबाट गर्न सकिने सबै काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिइएको छ ।

प्रमुख जिल्ला अधिकारी क्रृषिराम तिवारीको अध्यक्षतामा हिजो बसेको सरकारी कार्यालयका प्रमुखको नियमित बैठकमा सो निर्देशन दिइएको हो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी तिवारीले निर्वाचनपछि मतगणना सम्पन्न नहुन्जेलसम्म सरकारी कर्मचारीले जिल्ला छाड्न नछाड्न, निर्वाचनका समयमा अनावश्यक गतिविधिमा संलग्न नहुन र निर्वाचन आचारसंहिताको पूर्ण पालन गराउन पनि निर्देशन दिएका छन् ।

निर्वाचनको समयमा अति आवश्यक सेवा प्रदान गर्ने, विद्युत, संचार र जनस्वास्थ्य कार्यालयका कर्मचारीलाई चुस्त एवं दुरुस्त भएर बस्न, सवारी साधन भएका कार्यालयले सवारी साधनलाई व्यवस्थित बनाएर राख्न, सरकारी तथा गैरसरकारी मातहतमा रहेका आकस्मिक सेवा (एम्बुलेन्स )लाई तयारी अवस्थामा राख्न र वारुणयन्त्र भएका नगरपालिकाले वारुणयन्त्रलाई पनि निर्वाचन अवधि तथा अघि र पछि पनि व्यवस्थित तरिकाले राख्न पनि बैठकमा भनिएको थियो ।

राससका अनुसार निर्वाचनमा खटिने एक हजार ४५० जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई मंसिर ७ गतेदेखि तालीम दिइने र निर्वाचनमा लगभग पाँच हजार ५०० जनशक्ति परिचालन गरिने पनि जानकारी दिइएको थियो ।