निर्वाचनको सुरक्षाका लागि सीमानाका तीन दिन बन्द हुने

निर्वाचनको सुरक्षाका लागि सीमानाका तीन दिन बन्द हुने


मंसिर १० गते हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि बैतडीको सीमावर्ती क्षेत्रमा नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने भएको छ।

निर्वाचनका लागि बैतडीको भारतसँग जोडिएको सीमानाका झुलाघाट र दार्चुलाको भारतसँग जोडिएको नाका ७२ घण्टाका लागि बन्द हुने भएको हो ।

चुनावलाई मध्यनजर गरेर यही मंसिर ७ गते राति १२ बजेदेखि सीमानाका झुलाघाटमा आवतजावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी सिद्घराज जोशीले जानकारी दिनुभयो । उहाँले उक्त समयमा बिरामीबाहेक अरु साधन र पैदलयात्रुले नाकाबाट आवतजावत गर्न नपाउने बताउनुभयो ।

निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्त र सुदृढ बनाइएकाले मतदाताले ढुक्क भएर मतदानमा भाग लिनसक्ने प्रजिअ जोशीले बताउनुभयो ।

पहिलो चरणअन्तर्गत मंसिर १० गते प्रदेश नं ७ का बैतडीसहित दार्चुला, बझाङ र बाजुरामा निर्वाचन हुँदैछ ।