विष्फोटको घटनामा संलग्नप्रति कठोर बन्दै सरकार

विष्फोटको घटनामा संलग्नप्रति कठोर बन्दै सरकार


श्रृङ्खलाबद्ध बम विष्फोटका घटना बढेपछि सरकारी सुरक्षा संयन्त्रको आलोचना पनि बढेको छ । यसप्रति गम्भीर हुँदै हिजो मंगलबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले बम विस्फोटमा प्रमाणसहित फेला परेकालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले शान्ति सुरक्षालाई चुस्त–दुरुस्त बनाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा सार्वजनिक तथा उम्मेद्वारका घरमा बम विस्फोटका घटना बढेपछि परिषद् बैठक बसेको हो ।

बैठकमा रक्षामन्त्री भीमसेनदास प्रधान, मुख्यसचिव लोकदर्शन रेग्मी, गृहसचिव मोहनकृष्ण सापकोटा, रक्षासचिव विनोद केसी, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रधानसेनापति राजेन्द्र क्षत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीको उपस्थिति थियो भने चारवटै सुरक्षा निकायका प्रमुखले पछिल्लो सुरक्षा अवस्था र निर्वाचनको सुरक्षा रणनीतिका विषयमा जानकारी गराएको बुझिएको छ ।

यसैबीच विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चारजना कार्यकर्ता कपिलवस्तुमा पक्राउ परेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहल पहल बढ्दै गएको बेला निर्वाचनविरोधी गतिविधिमा संग्लन हुन सक्ने भन्दै प्रहरीले चार जनालाई कार्यकर्तालाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटा (कपिलवस्तु)ले जनाएको छ । जिल्लाको शिवराज गाउँपालिकाबाट तीन र महाराजगञ्जमा एक गरी चार जनालाई पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेकाको नाम सार्वजनिक गरिएको छैन ।

तस्बिर रासस