नियोकका निर्वाचन पर्यवेक्षकलाई अभिमुखीकरण

नियोकका निर्वाचन पर्यवेक्षकलाई अभिमुखीकरण


राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने विशिष्ट एवम् केन्द्रीय पर्यवेक्षकहरुका लागि अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रमुख निर्वाचन आयुक्तअयोधीप्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा नियोकका महासचिव डा. गोपाल कृष्ण सिवाकोटी र उपाध्यक्ष प्रा. कपिल श्रेष्ठले पर्यवेक्षणका क्रममा अपनाउनु पर्ने आचार संहिता, विधि र प्रक्रियाका सम्बन्धमा पर्यवेक्षकलाइ प्रशिक्षण दिनुभएको थियो भने सहभागीहरुलाई नियोक अध्यक्ष एवम् पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले शपथ ग्रहण गराउनुभएको थियो ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त यादवले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभयो । उहाँले छोटो समयमै नेपालले स्थानीय तहको निर्वाचन र प्रादेशिक एवम् प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेर विश्व समुदायलाई नै अध्ययनको विषय बनाउन सकिने बताउँदै यसरी निर्वाचन सम्पन्न गर्न आयोग र सरकारको मात्र नभई नागरिक समाजको पनि उत्कृष्ट भूमिका रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘पर्यवेक्षण गर्ने संस्थाहरुले दिने प्रतिवेदनका आधारमा निर्वाचन पद्धतिका हरेक पक्षका कमीकमजोरी थाहा हुन्छ । त्यसले सरकार, राजनीतिक दल र निर्वाचन आयोगलाई लगायत अन्य सरोकारवाला निकायलाई निर्वाचनको विश्वसनीयता र स्वतन्त्रताका लागि दिशानिर्देश गर्दछ ।’ उहाँले निर्वाचन पर्यवेक्षणका लागि युरोपियन युनियन, एनफे्रल, द कार्टर सेन्टर र आन्कावाका अन्तर्राष्ट्रिय पर्यवेक्षक आउने जानकारी दिनुभयो ।

निर्वाचन तयारीका क्रममा कहींकतै सुरक्षा चुनौती देखिए पनि दृढता र आत्मविश्वासपूर्वक तथा अर्जुन दृष्टिकासाथ अगाडि बढेको खण्डमा त्यस्ता चुनौतीलाई सहजै पार लाग्ने बताउनुभयो । प्रमुख आयुक्त यादवले निर्वाचनको निष्पक्षता, विश्वसनीयता र स्वतन्त्रताका लागि नियोक पर्यवेक्षकहरुको ठूलो भूमिका रहने भएकाले कुनै दल विशेषको पक्षमा प्रत्यक्ष, परोक्ष वा अप्रत्यक्ष रुपमा नलागी निर्वाचन आचारसंहिताका मूल्य र मान्यतालाई मात्मसात् गरी आआफ्नो क्षेत्रमा जुट्न निर्देशन दिनुभयो । उहाँले निर्वाचनमा दल र उम्मेदवारले गर्ने खर्चको सीमा तोकिए पनि त्यसलाई उल्लंघन गर्दै असीमित खर्च गर्ने कार्य भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । प्रमुख आयुक्त यादवले खर्चको अनुगमन गर्न आयोगले नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धीकरण आयोग र आन्तरिक राजस्व विभागलाई अनुरोध गरिएको जानकारी दिनुभयो ।

सो अवसरमा नियोकका अध्यक्ष एवम् पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले लोकतन्त्रलाई निर्वाचनले नै सुदृढ बनाउने बताउनुभएको थियो । उहाँले निर्वाचनको तयारीका सम्बन्धमा विभिन्न कमीकमजोरी रहेको भन्दै त्यसलाई आगामी दिनमा आयोगले सुधार गर्दै लैजानुपर्ने बताउनुभयो । त्यस्तै उहाँले निर्वाचन अधिकृतहरुलाई थप अधिकार प्रत्यायोजन गर्नुपर्ने, निर्वाचन खर्चलाई मितव्ययी बनाउनुपर्ने, आचारसंहिता कार्यान्वयनमा अझ सजग हुनुपर्ने जस्ता सुझाव आयोगलाई दिनुभयो । पछिल्ला केही घटनाले निर्वाचन सुरक्षाका लागि सरकारी तयारी अपूर्ण रहेको सन्देश प्रवाह भइरहेको भन्दै त्यसका लागि सम्बन्धित निकाय चनाखो हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नियोकका महासचिव डा. गोपालकृष्ण शिवाकोटी, कोषाध्यक्ष भवानी प्रसाद खरेल, नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षित, जियोकका अध्यक्ष हिमालयशमशेर जबरा, त्रिविका पूर्वउपुकुलपति केदारभक्त माथेमा, प्रा। कुसुम शाक्य, विकल श्रेष्ठलगायतले स्वतन्त्र र भयरहित निर्वाचनका लागि पर्यवेक्षकले निर्वाह गर्नुपर्ने भूमिकाका विभिन्न आयामबारे प्रकाश पार्नुभएको थियो ।