भेट्टाएको एक लाख रकम डेड महिनापछि फिर्ता

भेट्टाएको एक लाख रकम डेड महिनापछि फिर्ता


– रेजिना गौतम

इमान्दारिताको खडेरी परिरहेको पछिल्लो समय यातायात क्षेत्रमा काम गर्ने एक व्यक्तिले बाटामा भेट्टाएको रकमसहितको झोला हस्तान्तरण गरेर उदाहरणीय कार्य गरेका छन् ।

इलाम नगरपालिका–८ गोदकका सरोज भनिने शान्ति श्रेष्ठले गत असोज २८ गते झापा र इलामको सीमानामा पर्ने किटेनी ढाटनजिकै भेट्टाएको एक लाख नगदसहितको व्याग सम्बन्धित पात्र ताप्लेजुङ श्रीरीजंघा गाउपालिका–८ की पम्फामाया राईलाई बुझाएर उदाहरणीय कार्य गरेका हुन् ।

मे १ ख २१९८ नम्बरको ट्रकको मालिक तथा चालकसमेत रहेका शान्तिले असोज २८ गते विहान झापा झर्ने क्रममा बाटोमा उत्तानो परेको अवस्थामा केही लडेको जस्तो देखेपछि मान्छे होकि भन्दै हेर्न जाँदा व्याग भेटेको र भेटिएको व्यागको धनी खोजी गर्दै जाँदा पत्ता लागेपछि बुझाएको बताएका छन् । उनले भने– ‘व्याग प्रहरीमा जिम्मा लगाउँजस्तो पनि लाग्यो तर के–हो के–हो भन्ने लागेर व्यागधनी आफैले खोजी गरेँ । पत्ता पनि लाग्यो, अलि अगाडि नै लिन बोलाएको हो, उहाँहरूले नै आउन ढिलो गर्नुभयो ।’

असोज २८ गते झापाको हडिया बुधबारेबाट ताप्लेजुङको हप्पुखोला जाने मेची यातायात संघद्वारा सञ्चालित मे १ ज २८१२ नम्बरको बोलेरो ट्याक्सीमा याम्फुदिन घर फर्किने क्रममा ट्याक्सीको छतमा राखिएको व्याग बाटोमा झरेर हराएको राईले बताइन् । उनका अनुसार कञ्चनजंघा माविका प्रधानाध्यापक उनका श्रीमानलाई विद्यालयका शिक्षकहरूले ताप्लेजुङमा रकम साट्न नपाएपछि चेक पठाएका थिए । सोही चेक र आफ्नो पैसा बुधबारेस्थित नेपाल बैंकको शाखाबाट निकालेर स्टाफको जति ४ लाख रुपैयाँ आफ्नै काँधमा भिर्ने साइड ब्यागमा घर खर्च चलाउने १ लाख रुपैयाँ कपडा राखेको व्यागमा राखिएको राईले जानकारी दिइन् ।

इलाका प्रहरी कार्यालय विर्तामोडमा रकम हस्तान्तरण गर्ने शान्ति श्रेष्ठलाई रकमधनी पम्फा राईले १० हजारसहित फुलमालाले सम्मान गरिन् ।

सो अवसरमा यातायात व्यवसायी देउमान लिवाङले यातायात क्षेत्रमा इमान्दार मान्छे पनि छन् भन्ने उदाहारण शान्तिले प्रस्तुत गरेको भन्दै प्रशंसा गरेका थिए भने इलाका प्रहरी कार्यालयका डिएसपी कृष्णप्रसाद कोइरालाले शान्तिको इमान्दारिताको कदर गर्दै समाजका लागि उदाहरणीय पाठ भएको उल्लेख गरेका थिए ।