ओखलढुंगाका मतदाताले भने : एउटा व्यवस्थित बसपार्क चाँहियो

ओखलढुंगाका मतदाताले भने : एउटा व्यवस्थित बसपार्क चाँहियो


– कालिका खड्का
ओखलढुंगाको सदरमुकामा बस पार्किङ गर्ने ठाउँ नहुँदा सवारीसाधन सडकमै राख्नुपर्ने अवस्था छ ।

पहिलो चरणअन्तर्गत यही मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भोट माग्न जाने नेतालाई त्यहाँका मतदाताले एउटा व्यवस्थित बसपार्क बनाउने शर्तमा मात्र मत हाल्ने सुनाए ।

सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका मञ्जु बाँनियाले भने, ‘जुन नेताले बसपार्क बनाउने योजना ल्याउँछ र जिल्लाको विकास गर्छु भन्छ त्यसैलाई भोट दिने हो ।’ उहाँ बसपार्ककै छेउमा चिया पसल गर्नुहुन्छ । व्यवस्थित बसपार्क नहुँदा उहाँको चियापसमा आउन जान ग्राहकलाई अप्ठ्यारो छ ।

भोट माग्न गएका प्रतिनिधिसभाका उम्मेदवार यज्ञराज सुनुवारसँग बाँनियाले गुनासो गरे, ‘गरी खान पनि नपाउने, चिया पसलकै अगाडि बस आएर रोकिन्छ, ग्राहकलाई आउन जानै गाह्रो छ ।’

जिल्ला सदरमुकामा अहिलेसम्म बसपार्क छैन । बसपार्क नहुँदा सवारीसाधन बाटोबाटोमा राख्नाले अरु सवारीसाधनलाई पार हुन र सर्वसाधारण आवतजावत गर्न कठिनाइ हुन्छ ।

बाँनिया मात्र हैन, सोही नगरपालिकाका–१२ का गोपाल बज्राचार्यको भनाइ पनि उस्तै छ । ‘मतदाताको मर्मलाई बुझेर जिल्लामा बसपार्क बनाउने, गाउँगाउँसम्म सडक विस्तार गर्ने नेतालाई हाल्छु,’ उनले भने ।

पेशा व्यवसाय गर्ने र यात्रुलाई मात्र हैन ठूलाठूला कार्यक्रमको आयोजना गर्दा पनि ट्राफिक व्यवस्थापनमा निकै कठिनाइ हुने गरेको छ । ओखलढुंगाका ट्राफिक प्रहरी प्रमुख भेषराज कट्टेलका अनुसार कुनै ठूला कार्यक्रमको बेलामा ट्राफिक व्यवस्थापनमा निकै कठिन भएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका अवसरमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको यही मंसिर २ गते आयोजना भएको बृहत् चुनावीसभामा पनि ट्राफिक व्यवस्थापन गर्न निकै समस्या भएको थियो । दुवै दलले आआफ्नो चुनावीसभाको कार्यक्रमस्थल नजिकै सडकमा लाइन लगाएर सवारी साधन पार्किङ गरेका थिए ।

वाम गठबन्धनको चुनावी प्रतिबद्धतापत्रमा सिद्धिचरण नगरपालिकाभित्र दुई वर्षमा व्यवस्थित बसपार्क निर्माण गर्ने उल्लेख छ । वाम गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार यज्ञराज सुनुवारले भने, ‘एउटा व्यवस्थित बसपार्क बनाउँछु, त्योे योजनाभित्रै छ ।’

लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार रामहरि खतिवडाले पनि बसपार्क बनाउने आफ्नो पनि कार्ययोजना भएको बताए । सदरमुकाम ओखलढुंगास्थित रमाइलो डाँडामा बसपार्क बनाउने भनेर कामसमेत अघि बढिसकेको भए पनि नेपाली सेनाको जग्गा भएको हुँदा बसपार्क बन्न सकेन । अब उपयुक्त जग्गा खोजेर एउटा व्यवस्थित बसपार्क बनाउनु जरुरी छ ।

प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट सुनुवार र काँग्रेसका तर्फबाट खतिवडा उम्मेदवार हुनुहुन्छ भने प्रदेशसभाको क मा वाम गठबन्धनबाट अम्मिरबाबु गुरुङ, काँग्रेसबाट मित्रसेन दाहाल, तथा ख मा वाम गठबन्धनबाट माओवादीका मोहन खड्का काँग्रेसबाट प्रदीप सुनुवारका साथै स्वतन्त्रबाट ज्ञानेन्द्र रुम्दाली प्रतिस्पर्धामा हुनुहुन्छ । ओखलढुंगामा एक लाख दुई हजार २६३ मतदाता छन् ।