ठूलो परिमाणको कपडा, सुर्तीजन्य सामग्री बरामद

ठूलो परिमाणको कपडा, सुर्तीजन्य सामग्री बरामद


बाँके प्रहरीले नेपालगञ्ज धम्बोझीस्थित चार घरमा छापा मारेर ठूलो परिमाणको कपडा र सुर्तीजन्य सामग्री बरामद गरेको छ ।

धेरैअघिदेखि त्यहाँ भन्सार छलेर ल्याइएका सामान भण्डारण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेर सुटिङ सटिङका ब्राण्डेड कपडा, स्वीटर, ट्राउजर, हाइनेक, सेण्डो, मन्जन र सुर्तीजन्य पदार्थ गरी करिब रु १५ लाख बजार मूल्यका सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण शाहीको नेतृत्वको प्रहरी टोलीले नक्छेद गोडिया, सवारा काँदु, गोमती गोडिया र मीना काँदुको घरमा छापा मारे पनि उनीहरु फरार रहेको जनाएको छ ।

भन्सार छलेर तस्करी गरी ल्याइएका तस्कर र घरधनीलाई प्रहरीले खोजी गरिरहेको र बरामद सामान भन्सारलाई बुझाएर मुद्दा दर्ता गर्ने तयारी गरिहेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।