धार्मिक गुरुको ढोँग : सयौँ महिलाको यौन शोषण

धार्मिक गुरुको ढोँग : सयौँ महिलाको यौन शोषण


जन्मजात आफू अवतारी लामा भएको, दशौं पुस्तासम्म एउटै कुलमा जन्मेको दाबी गर्ने एक स्वघोषित धर्मगुरु महिलाहरुको यौन शोषण गरेको आरोपमा प्रहरी नियन्त्रणमा पुगेका छन् ।

आफूसँग जुनसुकै रोग पनि निको पार्न सक्ने दैवीशक्ति रहेको भ्रम फैलाएर उपचार गर्न आउने महिलाहरूलाई अनुचित प्रभावमा पारी यौन शोषण गर्ने रिम्पोछे छुल्ठिम दोर्जे योन्तान (योन्जन) टुल्कु लामालाई विशेष सुचनाको आधारमा काठमाडौंको दक्षिणकाली, चाल्नाखेल, वोशनस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला अदालतबाट जबर्जस्ती करणी तथा विद्युतीय कारोवार ऐनअन्तर्गतको मुद्दामा म्याद थप गरि थप अनुसन्धान भइरहेको छ ।

प्रहरी अनुसन्धानबाट खुलासा भएअनुसार अभियुक्त योञ्जन लगभग १० बर्षदेखि का.जि. दक्षिणकाली न.पा. १ चाल्नाखेल वोशनस्थित पेमा टासी छुल्ठिम घोम्बो कासुङ गुम्बा सञ्चालन गरी बसेका व्यक्ति हुन् । उक्त गुम्बामा महिलाहरूको संख्या निकै रहेको बताइन्छ ।

उपचार गराउन आएका महिलाहरूलाई एकान्त कोठामा मात्रै उपचार हुने भन्दै एक्लो बनाएर कथित उपचारको क्रममा निर्वस्त्र पार्ने र जबर्जस्ती शरीरिक सम्बन्ध राख्ने उनको दिनचर्या बनेको अनुसन्धानबाट खुलेको छ ।

उनले महिलाहरूलाई सो कुरा कसैलाई भनेको खण्डमा ठुलो क्षति हुन्छ, पुनः रोग बल्झिन्छ, रोगको उपचारको निम्ति निज गुरूसँगै यौन सम्पर्क राख्नुपर्छ भन्ने गरेको पीडित महिलाले प्रहरीसमक्ष बताएका छन् ।

गुरू तेत्तिसकोटी देउताको अवतार भएको, गुरू रिसाएमा अनिस्ट हुने भनी डर त्रास देखाई भ्रममा पारेको उक्त ढोँगी गुरुले पीडित महिलाहरूलाई परपुरूषसंग विवाह गरेमा तिम्रो मृत्यु हुन्छ भनी त्रास देखाई बारम्बार यौन सम्पर्क गर्ने गरेको पनि कतिपय पीडितले खुलासा गरेका छन् ।

५६ वर्षीय योञ्जनको जन्मथलो सिन्धुली रहेको प्रहरीले जनाएको छ ।