नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा-सुरक्षा बैठक

नेपाल र भारतका सुरक्षा अधिकारीबीच सीमा-सुरक्षा बैठक


नेपालमा हुन लागेको प्रदेश एवम् प्रतिनिधिसभा निर्वाचन तथा मित्रराष्ट्र भारतको स्थानीय निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्ने–गराउने उद्देश्यले नेपाल र भारतका सुरक्षा तथा प्रशासन निकायका अधिकारीहरूबीच छलफल भएकोे छ । सीमा सुरक्षा बैठक शीर्षक दिइएको उक्त छलफल वीरगञ्जस्थित विश्व होटलमा हिजो विहिबार सम्पन्न भएको हो ।

भारतका पूर्वी एवम् पश्चिम चम्पारणका अधिकारी तथा नेपालका पाँच जिल्लाका सुरक्षा प्रमुखहरूको उपस्थितिमा भएको बैठकले निर्वाचनमा शान्ति–सुरक्षा कायम राख्न मतदान हुने समयदेखि ४८ घण्टाअघि अर्थात मंसिर १९, २० र २१ गते सीमा नाका सील गर्ने निर्णय गरेको छ ।

निर्वाचनको समयमा नेपाल र भारत दुवै देशका नागिरकता लिएका व्यक्तिउपर निगरानी गरी प्रमाणसहित आवश्यक कानुनी कारवाही गर्ने, खुल्ला सीमाका कारण निर्वाचनको समयमा हातहतियारको ओसारपसार हुनसक्ने सम्भावना रहेकोले नाकामा कडाईका साथ चेकजाँच गर्ने, अराजक तत्व, लागुपदार्थ ओसारपसार, मादक पदार्थको सेवन÷तस्करी, शंकास्पद वस्तु र व्यक्तिमा विशेष कडा निगरानी गर्ने निर्णय बैठकले गरेको सहभागी एक अधिकारीले बताए ।

पछिल्लो समय तराईका विभिन्न जिल्लामा उम्मेदवारलाई लक्षित गरी बम विस्फोटलगायतका उछृङ्खल घटना बढ्दै गएकाले त्यसको निराकरण गर्न दुवै देशका सुरक्षा निकायको समन्वयका लागि बैठक गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले बताए । सीमा बन्द भएको बेला पर्यटक तथा एम्बुलेसलाई निर्वाध रुपमा चल्न दिने र ७२ घण्टापहिला अन्य सवारीसाधन आवागमन ठप्प गर्ने सहमति भएको बताइएको छ ।

खासगरी भारतका मस्टवाण्टेड र त्यस्तै खालका अपराधिक व्यक्तिहरू एकबाट अर्को देशमा गएर अपराधिक घटना घटाउने हुँदा दुवै देशका सुरक्षा अधिकारीहरुसँग वृहत छलफल गरिएको उनले बताए । बैठकमा भारत पूर्वी चम्पारणका डि.एम. रमनकुमार, पश्चिम चम्पारणका डा. निलेश डिउरे, मोतिहारीका एसपी विनय कुमार, पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, प्रहरी उपरिक्षक गणेश रेग्मीलगायत बारा, सर्लाही, रौतहट, चितवन जिल्लाका सुरक्षा निकाय प्रमुखको सहभागिता रहेको थियो ।

ज्ञातव्य छ, भारतमा स्थानीय तहको निर्वाचन यही मंसिर १३ गते हुँदैछ ।

– प्रणय साह