भीम अस्पतालको स्तर वृद्धि गरिने, अब ५० शैय्याको अस्पताल हुने

भीम अस्पतालको स्तर वृद्धि गरिने, अब ५० शैय्याको अस्पताल हुने



– चन्द्रकान्त खनाल

भैरहवामा रहेको जिल्ला अस्पताललाई स्तर वृद्धि गरी ५० शैय्याको बनाउने निर्णय भएको छ । गत शुक्रबारको मन्त्रीपरिषदको निर्णयअनुसार रुपन्देही जिल्लामा रहेको भीम अस्पतालको स्तरवृद्धि गरी ५० शैय्या हुने भएको स्वास्थ्यमन्त्री दिपक बोहराले जानकारी दिए ।

जिल्लामा रहेको पुरानो अस्पतालको स्तर वृद्धि नहुँदा स्वास्थ्यसम्बन्धी सबै प्रकारका सेवा पाउनबाट जनता वञ्चित भएको उल्लेख गर्दै मन्त्रीपरिषदले स्तरवृद्धिका साथै अस्पताललाई आवश्यक उपकरण र दरबन्दीको ब्यबस्था मिलाउने निर्णय गरेको मन्त्री बोहोराले बताए ।

राणाकालीन समयमा वि.सं. १९९० मा स्थापित यो अस्पताल अहिले २५ शैय्याको छ । ५० शैय्या हुने भएपछि आवश्यक जनशक्ति लगायतका कामको तयारी छिटै हुने भीम अस्पताल विकास समितिका अध्यक्ष विशेश्वरप्रसाद बश्याल बताउँछन् ।

उनले भने– ‘भैरहवावासी मात्रै नभई आसपासका समस्त ग्रामीण क्षेत्रका वासिन्दासमेत यो खबरले हर्षित भएका छौँ ।’ विपन्न नागरिकहरूलाई सुलभ सेवा दिने यस अस्पताललाई अब गुणस्तरीय सेवा दिने सरकारी अस्पतालका रुपमा विकसित गर्ने प्रतिबद्धता पनि अध्यक्ष बश्यालले जनाए । शहरको बीच भागमा रहेकोले दौडेर आए पनि सुरुमा पहिलो उपचार गर्ने थलोको रुपमा यो अस्पताललाई विकास गर्नुपर्नेमा स्थानीयको जोड छ ।

५० शैय्याकोमा स्तरउन्नति भएपछि ८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी थप हुनेछ । अहिले दरबन्दी अनुसार पनि चिकित्सक अभाव अस्पतालमा छ । नयाँ मेडिकल सुपरीटेन्डेन्ट विप्लब सापकोटको नियुक्ति भएर आएपछि अस्पतालले हाडजोर्नी विशेषज्ञ चिकित्सकका रुपमा सापकोटालाई पाएको छ । सापकोटा अस्पतालामा आएलगत्तै अस्पतालको आफ्नै फार्मेसी पनि सञ्चालनमा ल्याएको छ । करिब २ वर्षदेखि प्रसुतीरोग विशेषज्ञ अस्पतालमा आएपछि महिलाहरू विशेष लाभान्वित भएका छन् । प्रसुती सेवाका लागि भिम अस्पताल रुपन्देहीमै उत्कृष्ट बन्दै गएको छ ।

अस्पतालमा एक हप्ताअघि मात्रै ५० लाख रुपैयाँको अस्पतालमा एनेस्थेसिया मेसिन (सर्जरी गर्दा बिरामीलाई बेहोस बनाउन प्रयोग गरिने) भित्रिएको, डिजिटल एक्सरे मेसिन समेत आएको र नयाँ भवन निर्माणका लागि नक्साङ्कन कार्य भवन तथा शहरी विकास कार्यालयले गरिसकेकाले अब छिट्टै बोलपत्र आह्वान हुने अध्यक्ष बश्यालले बताए । ३ वर्षभित्रमा अस्पतालको सेवा–सुविधा हेर्नलायकको बनाउने दृढतासहित विकास समितिले काम गरिरहेको उनले खुलासा गरे ।