नेपाली काङ्ग्रेस, सुजाता र सुनसरी-गोमा पराजुली

नेपाली काङ्ग्रेस, सुजाता र सुनसरी-गोमा पराजुली


साठीवर्षे इतिहासमा लाखौँ कार्यकर्ताको रगत-पसिनाले काङ्ग्रेस पार्टीलाई जीवन्तता दिएको कुरा कसैबाट छुपेको छैन । काङ्ग्रेसमा लागेर आफ्नो जीवन बलिदान दिने, सर्वस्व हरण हुने, घरवारविहीन भएका नेता, कार्यकर्ता आज पनि हजारौँको सङ्ख्यामा काङ्ग्रेसमा नभएका होइनन् । कुनै यस्तो जात छैन, कुनै यस्तो वर्ग छैन, कुनै यस्तो क्षेत्र छैन, जसको काङ्ग्रेसमा लगानी नभएको होस् । धेरै नेपालीको खासगरी प्रजातन्त्रप्रति आस्था र विश्वास राख्ने नेपालीहरू काङ्ग्रेसमा आबद्ध छन्, प्रतिबद्ध छन्, सक्रिय र समर्पित छन् । सयौँ सहिद दिएको नेपाली काङ्ग्रेस पार्टीको पर्याय भन्ने सौभाग्य निःसन्देह कोइराला परिवारले पायो । सुरुमा काङ्ग्रेस स्थापना गर्ने क्रममा बीपी, मातृका, गणेशमान, सुवर्णशमशेर, किसुनजीजस्ता राजनेताहरू भए पनि काङ्ग्रेस र कोइराला परिवार एक-अर्काका पूरकझैं भएको ठानिन्छ । यसो हुनुमा मातृकाप्रसाद कोइराला, बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाले लामो अवधिसम्म निर्णायक नेतृत्व दिन सक्नु नै प्रमुख कारण मान्न सकिन्छ ।
नेपाली काङ्ग्रेसले ०४८ सालमा बहुमत प्राप्त गरेर प्रधानमन्त्री बनेका तत्कालीन नेकां महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनेबित्तिकै ‘प्रथम महिला’ बनाइएकी सुजाता कोइराला सुष्मा कोइराला ममोरियल ट्रष्टमार्फत समाजसेवामा लागेको केही वर्षभित्रै काङ्ग्रेस राजनीतिमा सक्रिय हुन थालिन् । ट्रष्टमार्फत विभिन्न जिल्लाा सामाजिक कार्य गरे पनि राजनीतिमा एउटा निश्चित क्षेत्र बनाउने बाध्यता उनमा आयो । गिरिजाप्रसाद मोरङ क्षेत्र नं. १ र सुनसरी क्षेत्र नं. ५ बाट निर्वाचित सांसद भएकोमध्ये सुनसरी- ५ लाई आफ्नो राजनीतिक क्षेत्र बनाउन सुजाता सफल भइन् । पार्टीको पोखरा महाधिवेशनमा एक्कासि केन्द्रीय सदस्य बन्न खोज्दा क्रियाशील सदस्य दस वर्ष नपुगेको भन्दै उनको उम्मेदवारी रोकियो । उनी सुनसरी काङ्ग्रेसको जिल्ला सदस्य भइन् । दसौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित कृष्णप्रसाद सिटौला सङ्गठन विभागप्रमुख हुँदा सुजाता विभागीय सदय भइन् । २०६२/६३ को लोकतान्त्रिक आन्दोलनमा एकदमै सक्रिय भएर सुजाता सडकमा निस्किएपछि उनी राजनीतिक नेताको रूपमा स्थापित हुन पुगिन् । एघारौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि उनी अन्तर्राष्ट्रिय विभागप्रमुख भइन् र सरकारमा बिनाविभागीय मन्त्रीसमेत भइन्- आफ्नै पिताको मन्त्रिमण्डलमा । पिता प्रधानमन्त्री छोरी मन्त्री भएर संविधानसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. ५ बाट पार्टी टिकट लिएर उम्मेदवार बनिन् । तर, दुर्भाग्य कतिपय बुथमा एजेन्ट बन्नसमेत कोही तयार भएनन् । परिणाम सुजाताले निर्वाचनमा नराम्रो पराजय भोगिन् । पराजित भए पनि पिताको पुत्रीमोहका कारण उनी पुनः मन्त्री बनाइन् । मन्त्री मात्र होइन सुजाताकै नेतृत्वमा काङ्ग्रेसलाई सरकारमा सहभागी गराइयो । अनि पार्टीमा कसैको सहमतिबेगर पिता सभापतिको ठाडो इशारामा उपप्रधानमन्त्रीसम्म बनाइयो । सुजाता कोइरलाको राजनीतिक उचाइलाई कसैले पनि स्वाभाविक मानेन ।
बीपीले २०१६ सालमा निर्वाचन लडेको इलाका नै सुनसरी थियो । पछि २०४२ देखि गिरिजाप्रसाद पनि सुनसरीको कुनै न कुनै क्षेत्रबाट निर्वाचित भए । २०४८ मा क्षेत्र नंं. ३ बाट गिरिजाप्रसाद निर्वाचित भएपछि उपनिर्वाचनमा सोही क्षेत्रबाट बीपीका जेष्ठ सुपुत्र प्रकाश कोइराला निर्वाचनमा उत्रिए र सानदार मतले विजयी भए । उनी निर्वाचित हुनुमा उनको मिलनसार छवि, बीपीपुत्र हुनुको गौरव, मनीषा कोइरालाको उपस्थिति नै प्रमुख कारण थियो । पछि २०५१ को मध्यावधि निर्वाचनमा क्षेत्र नं. ५ बाट गिरिजाप्रसाद निर्वाचित भए, त्यस्तै २०५६ मा पनि पुनः गिरिजाप्रसादलाई सुनसरी क्षेत्र नं. ५ का कार्यकर्ताले ज्यानको बाजी थापेर निर्वाचनमा विजयी बनाए । सुनसरी क्षेत्र नं. ५ का काङ्ग्रेसी कार्यकर्ताले ज्यान हत्केलामा राखेर बारम्बार गिरिजाप्रसाद कोइरालालाई जिताएका हुन् । -यहाँ स्मरणीय कुरा के छ भने क्षेत्र नं. ५ लाई मुस्लिम बाहुल्य क्षेत्रको रूपमा लिइन्छ र त्यहाँको निर्णायक मत भनेकै मुस्लिम मत हो ।) सुनसरी क्षेत्र नं. ५ को बलिदानी छविबाट सुजाता प्रभावित भएरै धरान क्षेत्र नं. १ बाट सुरुमा राजनीति प्रारम्भ गरेकी उनी पछि मात्रै क्षेत्र नं. ५ सरुवा भएकी हुन् ।
सुनसरीलाई कोइराला प्रभावित जिल्ला मानिन्छ । गिरिजाप्रसादको इतिहास र सङ्गठन कौशलताका कारण गिरिजाबाबु सुनसरीबाट निर्वाचतमा सधैं विजयी भएका हुन् । उनले एकपटक पनि हार्नुपरेन । सुनसरीमा चारवटा क्षेत्र हुँदा होस् वा पाँचवटा निर्वाचन क्षेत्र हुँदा होस् २०४८ देखि २०५६ सम्म सम्पन्न भएको तीनवटा आमनिर्वाचनमा धरानको क्षेत्र नंं. १ बाहेक सबै क्षेत्रमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरूको भारी मतले निर्वाचन जितेको इतिहास धेरै पुरानो भएको छैन । तर, संविधानसभाको निर्वाचनमा प्रधानमन्त्रीपुत्री बिनाविभागीय बहालवालामन्त्री नेत्री सुजाता कोइरााल स्वयम् पराजित हुन पुगिन् । त्यही सुनसरी जिल्ला हो जहाँबाट काङ्ग्रेस उम्मेदवार सानदार मतले निर्वाचित हुन्थे, तर किन संविधानसभाको निर्वाचनसम्म आइपुग्दा ६ वटा क्षेत्र भएको सुनसरीमा काङ्ग्रेसका कुनै पनि उम्मेदवारले विजयको झन्डा फहराउन सकेनन् – यसको कारण के हुनसक्छ – यो प्रश्नको उत्तर सुनसरी काङ्ग्रेसलाई सुजाताले दिनुपर्छ ।
सुनसरीका काङ्ग्रेसीहरूले कोइरालाहरूको छत्रछायामा आफूलाई समाहित गरिरहे पनि कोइराला परिवारबाट सुनसरीका कार्यकर्ताहरूले खासै केही पाउन सकेनन् । जब सुनसरीकी उदीयमान नेत्री सुजाता हुन थालिन् सुनसरीमा काङ्ग्रेसको साख नराम्ररी गिर्न थाल्यो । संविधानसभाको निर्वाचनमा आफू उम्मेदवार बन्दै गर्दा कति जना काङ्ग्रेसीलाई सुजाताले आफ्नो पहलमा समानुपातिक उम्मेदवार बनाइन् त – कति जना सभासद् बनाइन् त – कति जना मन्त्री बनाइन् खै – कति जना जिल्लाका नेतालाई केन्द्रीय सदस्य बनाइन् – कति जना महिलालाई केन्द्रीय नेतृत्वमा स्थापित गराइन् – तरुण दलको केन्द्रीय समितिमा सुनसरीबाट कसलाई सिफारिस गरिन् त – नेविसङ्घजस्तो सङ्गठनमा खोई त सुनसरीका युवाहरूको प्रतिनिधि को छ सुनसरीका जनताको माझका गएर काङ्ग्रेसको वकालत गर्ने पदीय हैसियत भएको सुजाताबाहेक अर्को नेतृत्व – सुजाता आफू त नेता बनिन् तर सुनसरीका स्वाभिमानी नेताहरू कसलाई कुन ठाउँमा प्रस्तावित गरिन् त – आज सुनसरीमा काङ्ग्रेसको सभासद्हरू कति जना छन् – छ वटा निर्वाचन क्षेत्र भएको कुनै समयको काङ्ग्रेसी किल्लामा समानुपातिकबाटै भए पनि आज कति जना समासद् होलान् त – एक, दुई, तीन, चार पाँच, अथवा छ – मात्र एकजना महिला सभासद् छिन् । त्यो पनि काङ्ग्रेसको क्रियाशील सदस्यसमेत नलिएकी साधारण लेखपढ गर्ने गृहिणी । उनी पनि पार्टी एकीकरणको ६० प्रतिशत र ४० प्रतिशतमध्ये देउवा पक्षको ४० प्रतिशतभित्रकी सभासद् हुन् । बोधनारायण सरदार संस्थापनतर्फबाट सभासद् भएका थिए । उनको छोराले कोइराला परिवारको नाता पर्ने युवतीसँग विवाह गरेको हुँदा एक सम्धी भएकै कारण सभासद् बनाइए तर अब उनी रहेनन् स्वर्गीय भइसके ।
२०४२ को आमनिर्वाचनपछि बनेको नेकाको सरकारमा पहिलोपल्ट सूचना तथा सञ्चार राज्यमन्त्री बनाइएका सुनसरीका स्वर्गीय आदिवासी नेता विजयकुमार गच्छदार काङ्ग्रेसबाट बारम्बार मन्त्री बन्ने कामै भाग्यमानीमध्ये एक नेता थिए । जो पछि संविधानसम्मको निर्वाचनमा मधेसी जनअधिकार फोरमका प्रवेश मात्र गरेन सोही पार्टीबाट निर्वाचित भई संसदीय दलको नेता, मन्त्री हुँदै हाल देशकै वरिष्ठ उपप्रधानमन्त्री छन् । मधेसीको जनअधिकार फोरम विभाजन गरी मधेसी जनअधिकार फोरम -लोकतान्त्रिक) पार्टी गठन गरी अध्यक्षसमेत भइसकेका छन् ।
सुनसरीले आफ्नै राजनीतिक इतिहास बनाएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला २०४२ सालमा दोस्रो जननिर्वाचित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालापछि २०४२ पछि संसद्को जेष्ठ सदस्यको हैसियतले सभामुख बनेका डा. खखिल मिया, २०४२ का विजयी दलका नेता मनमोहन अधिकारी उपसभामुख लीला सुब्बा श्रेष्ठ इत्यादि रेकर्ड बनाएको सुनसरी मधेस आन्दोलन नायक उपेन्द्र यादव मधेसी जनअधिकार फोरमको अध्यक्ष छन् भने उनको लोकतान्त्रिक फोरमको अध्यक्ष विजयकुमार गच्छदार भएका छन् । दुई ठूला मधेसवादी पार्टीका अध्यक्षहरू सुनसरीकै हुनु एउटा संयोग मत्र मान्न सकिन्छ । त्यस्तै देशको उपप्रधानमन्त्रीहरू पनि सुनसरीबाटै प्रतिनिधित्व गर्ने नेताहरू हुनुहुन्छ । एउटा उपप्रधानमन्त्री विजयकुमार गच्छदार -लोकतान्त्रिक फोरम अध्यक्ष) अर्को उपप्रधानमन्त्री काङ्ग्रेसकी नेत्री -सम्भवत स्वघोषित वरिष्ठ नेत्री नत्र पार्टी उपसभापतिको दावा किन गर्थिन् र) सुजाता कोइराला । आखिर सुनसरीको राजनीतिक इतिहास उल्लेखनीय नै छ ।
तर सुनसरीमा काङ्ग्रेस दिन परदिन कमजोर भएको छ । यसको खास कारण हो मधेसका धर्तीपुत्रहरू मधेसवादी पार्टीको केन्द्रीय अध्यक्ष हुनु र उनीहरू सुनसरीमै जन्मे-हर्ुर्केका ग्रासरुटका नेता हुनु । आफ्ना कार्यकर्ताको दुःखपीडामा घरासयी भित्रझैं यादव र गच्छदारले साथ दिने उनीहरूको नेतृत्वक्षमता हुनु । तर, सुनसरीबाट काङ्ग्रेस केन्द्रीय नेतृत्वमा स्थापित भएर पनि सुनसरीका जनताले सुजातालाई आफ्नो नेताको रूपमा अस्वीकार गर्नु पनि सुनसरीमा काङ्ग्रेस कमजोर हुनुको एक प्रमुख कारण हो भन्दा अत्युक्ति नहोला ।