किन हारे गठबन्धन-सूत्रधार दुई हस्ती ?

किन हारे गठबन्धन-सूत्रधार दुई हस्ती ?


निर्वाचनको समग्र नतिजा सार्वजनिक हुने क्रम उत्कर्षमा पुग्दै गर्दा देश लालमय बनेको अनुभूति गरिएको छ । लोकतान्त्रिक गठबन्धनतर्फका एकसेएक ‘हेभिवेट’ नेताहरू अनपेक्षित रूपले पराजित बन्न पुगेका छन् भने वाम गठबन्धनको सुनामी लहरले कतिपय आसै नगरेका उम्मेदवारलाई समेत ‘माननीय’ बनाइदिएको छ । यहाँसम्म कि आपराधिक क्रियाकलापमा संलग्नताका कारण जनस्तरमा बदनाम छवि बनेका पात्रसमेत प्रतिनिधि र प्रदेश सभाका सदस्य बन्ने भएका छन् ।

तर, जुन वाम गठबन्धनले यतिबेला मुलुकको राजनीतिलाई उलटपुलट तुल्याइदिएको छ, जुन गठबन्धनले भारी बहुमतका साथ वामशक्तिलाई सत्ताको सिँढी उकालिदिँदै छ या मुलुकको शासनको वागडोर थमाइदिँदै छ, त्यही गठबन्धनका प्रमुख सूत्रधार दुई पात्र वामको बाढी आएको बेला पनि निर्वाचनमा पराजित हुन पुगेका छन् ।

खास हैसियत नभएका, त्यति धेरै नपत्याइएका र आपराधिक छवि भएका व्यक्तिहरूसमेत ‘वाम लहर’को लाभ उठाउँदै विजयी बनिरहेको अवस्थामा एमालेका ‘हेभिवेट’ वामदेव गौतम र एमाओवादीका शीर्ष व्यक्तित्व नारायणकाजी श्रेष्ठले पराजय व्यहोर्नुपरेको सन्दर्भलाई स्वाभाविक रूपमा हेरिएको छैन । काङ्ग्रेसको गढ भनिएका कैयन स्थानमा समेत गठबन्धनको प्रभावका कारण एमाले र माओवादीका उम्मेदवार विजयी बन्दै गर्दा बर्दियाजस्तो वामदेवले विजय हात पार्दै आएको ‘वाम–गढ’बाटै उनी पराजित बन्न पुगेका छन्, जसमा गम्भीर राजनीतिक चलखेल लुकेको हुन सक्ने अनुमान गर्न थालिएको छ । यसैगरी, रोल्पा–रुकुमपछिको माओवादीको उद्गम स्थल मानिने गोरखा–१ बाट नारायणकाजी श्रेष्ठले हार व्यहोर्नुपरेको अवस्थालाई पनि अस्वाभाविक रूपमै लिइएको छ ।

आखिर के हुन सक्छ वाम गठबन्धनका यी दुई प्रमुख सूत्रधारहरूको पराजयको पछिल्तिरका कारण ? प्रश्न साँच्चै पेचिलो छ । वाम गठबन्धनले हासिल गरेको यस प्रचण्ड विजयको प्रहरमा एक–दुईजना नेताविशेषको पराजयको प्रसङ्ग त्यत्तिकै छोपिन सक्छ, तर चिरपर्यन्त पनि यो मुद्दा कहीँ न कहीँ पुगेर उठ्न सक्ने सम्भावना भने प्रबल नै रहेको छ ।

बर्दिया–१ मा जम्मा ७ सय ५३ मतले वामदेवलाई काङ्ग्रेसका उम्मेदवार सञ्जय गौतमले पराजित तुल्याएका छन् । ०७० सालको चुनावमा त्यहाँबाट वामदेव एमाले एक्लैको भारी मतले विजयी बनेका थिए । यसपटक माओवादीसहितको मत जोडिँदा पनि उनी सयौँको मतान्तरले हार्न पुगे । वामदेव जुन उम्मेदवारसँग पराजित बनेका छन्, काङ्ग्रेसका यी उम्मेदवार आफैँमा राम्रै पात्र हुन् र पनि वामदेव गौतमको तुलनामा राजनीतिक रूपले टक्कर दिने ‘हेभिवेट’ किमार्थ होइनन् । तर, उनलाई पराजित तुल्याएर आफ्नो बेग्लै ‘वेट’ भने सञ्जय गौतमले कायम गरेका छन् ।

त के सञ्जय गौतमको विजय र वामदेम गौतमको पराजयमा फगत सञ्जयकै व्यक्तित्व र कृतित्वले काम गरेको हो त ? कि यसमा परोक्ष कुनै फ्याक्टर लुकेको छ ? यतिबेला धेरैले अनुमान र आशङ्का गरेको कुरा पनि यही नै हो ।

यहाँनेर मनन गर्नुपर्ने तथ्य के पनि छ भने वामदेव पराजित भएको क्षेत्रबाट प्रदेश सभाका दुवै सिटमा वाम गठबनधनकै उम्मेदवार (१ बाट एमाले र २ बाट माओवादी केन्द्रका) ले जितेका छन् । यसरी प्रदेश सभाका उम्मेदवारले विजय हात पार्नु तर कम्युनिष्टबाहुल्य क्षेत्र भएर पनि प्रतिनिधिसभाका उम्मेदवारचाहिँ परास्त हुनुले शङ्काको सुई ‘नियोजित रूपमै वामदेवलाई आफ्नै विरादरीबाटै हराइएको त होइन ?’ भन्नेतर्फ स्वाभाविक रूपले जान्छ ।

त्यसो भए उनलाई हराउन कुन शक्ति किन लागिप¥यो होला त ? यो प्रश्न पनि स्वतः खडा हुन्छ । यसको जवाफ खोज्दै जाँदा वामदेवको स्वभाव र उनले पार्टीगत तथा राष्ट्रिय रूपमा खोज्दै आएको भूमिकामाथि एकपटक नियाल्नैपर्ने हुन्छ । वामदेव प्रतिनिधिसभामा विजयी बनेर आउँदा सबभन्दा असर पुग्ने पात्र एमाले अध्यक्ष केपी ओली नै हुन् । किनकि, जतिबेला पार्टीमा ओली एक प्रकारले निरीह पात्र बन्दै थिए, त्यसबेला विरोधी कित्तामा रहेका वामदेवले ओलीलाई ‘डुब्न लागेकोलाई सिन्का सहारा’ भन्ने तवरले साथ दिएका थिए । वामदेवको उक्त कदमले नै पार्टीभित्रका अवरोध चिर्दै ओलीलाई आजको स्थानसम्म आइपुग्न सघाएको हो । उनको यस सहयोगप्रति कृतज्ञ हुँदै भावी मौकामा वामदेवलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुन आफूले सक्दो सहयोग दिने वचन ओलीले दिएका हुन सक्छन् ।

यो अनुमान किन गरियो भने त्यतिबेलै यसप्रकारको सहमति यी दुई नेताबीच भएको भन्ने चर्चा एमालेवृत्तमै पनि चलेको थियो । यदि यसरी वचन दिइएको थियो भने त्यसको कार्यान्वयन गरेर गुन तिर्ने सबभन्दा उपयुक्त समय अहिले नै हो । केपी ओलीजस्ता चतुर राजनीतिजीवीले यो नबुझ्ने कुरै रहेन । वामलहरको सुनामी उठ्ने आकलन गरेर नै उनले कतै सुइँकोसम्म नदिई चितुवा–चालमा वामदेवलाई सङ्घीय संसद्सम्म पुग्न नदिने फर्मुला अवलम्बन गरेका हुन सक्छन् । उनलाई चुनावमै हराइदिएपछि त ‘न रहे बाँस न बजे बाँसुरी’ भनेझैँ प्रधानमन्त्री बनाइदिनुपर्ने त सवाल नै नरहने, पार्टी अध्यक्षका लागि पनि वामदेवको बार्गेनिङ पावर अत्यन्त कमजोर भएर जाने अवस्था रहने नै भयो । त्यसमाथि माओवादी केन्द्रसँग पार्टी एकता गर्ने प्रक्रियाका कारण पार्टीको अध्यक्ष प्रचण्डलाई बनाइने सहमति भएको चर्चाबीच वामदेवको सम्भावना यत्तिकै पनि क्षीण रहने जोसुकैले अनुमान लगाउन सक्ने कुरा हो ।

चुनावी हारजितमा विभिन्न फ्याक्टरले काम गरेको हुन सक्ने हुँदा अहिले नै यही हो भनी कसैमाथि किटानसाथ आरोप लगाउन त सकिँदैन । त्यसैले ओली–वामदेव सम्बन्धको उल्लिखित ‘फ्याक्टर’ एक अनुमानित धारणा नै हो भन्ने मनन गर्नु यहाँनेर अपरिहार्य छ ।

जहाँसम्म नारायणकाजी श्रेष्ठको पराजयको सन्दर्भ छ, यसै पनि उनका प्रतिद्वन्द्वी कमजोर थिएनन् । विगतको चुनावमा मुलुकभरकै चुनावी क्षेत्रमध्ये सर्वाधिक फरक मतान्तरले डा. बाबुराम भट्टराई विजयी बनेका स्थान थियो त्यो । त्यसबेलाको तुलनामा विभिन्न कारणले बाबुरामको लोकप्रियता खस्किएको र उनको दलीय उपस्थिति पनि दयनीय रहेको आधारमा भन्नुपर्दा उनले विगतको जस्तो लोकप्रिय मत पाउने सम्भावनाको आकलन त गरिएकै थिएन, तर उनलाई दुत्कारिहाल्ने मानसिकता उनका भोटरमा विकास नभएकोचाहिँ प्रत्यक्षतः अनुभूति गरिएकै थियो । यस्ता बलिया प्रतिस्पर्धीसँग मुकाबिला गर्ने कार्य नारायणकाजी श्रेष्ठका लागि सहज थिएन र पनि वाम गठबन्धनको लाभ भने उनलाई हासिल हुने र झिनै मतान्तरले भए पनि उनको विजय हुने धेरैको अनुमान थियो ।

तर, माओवादी गढमै उनी पनि हार्न पुगे । यसलाई स्वाभाविक रूपमा लिइएको छैन । कतै उनी पनि पार्टीभित्रकै षड्यन्त्रको सिकार बनेका त होइनन् भन्ने सवालका साथ प्रचण्डको राजनीतिक चरित्रसँग जोडेर नारायणकाजीको पराजयको चर्चा गर्ने विश्लेषकको तप्का देखिएको छ । नारायणकाजी हारेको चुनावी क्षेत्रमा पनि प्रदेश सभातर्फ माओवादीकै उम्मेदवार जितेबाट शङ्का गर्न सकिने आधार प्रशस्तै छ । नारायणकाजी श्रेष्ठको बौद्धिक एवम् शालीन व्यक्तित्व कुनै न कुनै राजनीतिक मोडमा कसैका लागि बाधक बन्न सक्ने आकलनकै आधारमा उनलाई विजयश्री मिल्ने गरी सघाउन उनको दलको शीर्ष नेतृत्व आवश्यक मात्रामा उत्साहित नभएकै हो भनिदिँदा पूर्वाग्रह या अतिरञ्जना पक्कै नठहरिएला ।

सारमा भन्नुपर्दा, वाम गठबन्धनका यी दुई सूत्रधारको पराजयमा उनीहरूका दलभित्रैको कुनै न कुनै प्रकारको असहयोगले अहम् भूमिका निर्वाह गरेको नहोला भनी अहिले नै निचोडमा पुग्न नसकिने नै देखिन्छ । गठबन्धनका सूत्रधार यी हस्तीको हारमा बाह्य शक्तिले पनि सूक्ष्म रूपले चाल चलेको हुन सक्छ, त्यो बाह्य शक्ति जो वाम गठबन्धनको कारण आफ्नो अभीष्टमा क्षति पुगेको ठान्दछ । बेग्लै र विस्तृत आयाम छिचोल्दै यस पाटोबाट अलग विश्लेषण गर्न सकिन्छ, जसले गर्दा यी दुई हस्तीले हार व्यहोर्नुपरेको हुन सक्छ । तर, दुवैको पराजयमा ‘माओवादी मत’ मुख्य कारण बनेको यथार्थलाई भने सूक्ष्म अध्ययन गर्नु वाञ्छनीय देखिएको छ ।